ताजा समाचार

जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान

 दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार किश्तवाडमा सबैभन्दा बढी ७७ दशमलव २३ प्रतिशत, दोडामा ६९ दशमलव ३३ प्रतिशत, रामबनमा ६७ दशमलव ७१ प्रतिशत, कुलगाममा ५९ दशमलव ६२ प्रतिशत, शोपियानमा ५३ दशमलव ६४ प्रतिशत र अनन्तनागमा ५४ दशमलव १७ प्रतिशत मतदान भएको छ । पुलवामामा सबैभन्दा कम ४३ दशमलव ८७ प्रतिशत मतदान भएको छ ।
जम्मू–कश्मीरको २४ वटा विधानसभा सिटमा पहिलो चरणमा मतदान भएको हो । यसमा कश्मीर क्षेत्रका १६ सिट र जम्मु क्षेत्रका आठ सिट समावेश छन् । जम्मू–कश्मीरमा दोस्रो र तेस्रो चरणको मतदान क्रमशः सेप्टेम्बर २५ र अक्टोबर १ मा हुनेछ । अक्टोबर ८ मा मतगणना हुनेछ ।
जम्मु–कश्मीरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रिय काङ्ग्रेस र काङ्ग्रेसले गठबन्धन गरे पनि केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ । संविधानको धारा ३७० खारेज भएपछि जम्मू–कश्मीरमा भएको यो पहिलो निर्वाचन हो । नेताहरुले आ–आफ्नो पार्टीका उम्मेदवारको प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org