ताजा समाचार

लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका लागि रकम निकासा गर्ने जानकारी गराएको हो ।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायतबाट प्रभावित जिल्लालाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन निर्देशन भइसकेको जानकारी दिए । गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रममा उनले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा गर्ने प्रस्ट पारे ।

गृहमन्त्री लेखकले विपद्मा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै मृतक परिवारमा श्रद्धाञ्जलि तथा पीडित परिवारमा समवेदना समेत प्रकट गरे । उनले घाइतेहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिँदै उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

गृहमन्त्री लेखकले अहिले मृतकका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेर जिल्लाहरुमा रकम पठाइसकिएको बताउँदै सम्बन्धित जिल्लाले पीडितलाई राहत रकम वितरण गरिरहेका बताए। मन्त्री लेखकले उद्धार, राहत र पुनःस्थापनामा सरकारी गम्भीर भएर लागेको समेत उल्लेख गरेका छन् ।

यही असोज १० देखि १२ गतेसम्म आएको मनसुनी वर्षाका कारण देशभर गरेर दुई सय ३९ जनाको मृत्यु भएको छभने अझै १९ जना हराइरहेका छन् । अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ । अहिले पनि बिपी राजमार्गलगायत कति राजमार्ग सञ्चालन हुन सकेका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org