ताजा समाचार

बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा २९ लेखापढी व्यवसायी पक्राउ

विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट २९ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मालपोत कार्यालय परिसरबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जना पक्राउ परेका हुन् ।

पक्राउ परेका सबै व्यक्ति लेखापढी व्यवसायमा संलग्न रहेका थिए । लेखापढीको नाममा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिएको र आफैं काम गर्न नदिई रकम माग्ने गरेको गुनासो आएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वालले सेवाग्राहीलाई हैरानी दिएको सूचनाका आधारमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको बताए । “सेवाग्राहीलाई आफैं काम गर्न नदिने र पैसा माग्ने गतिविधि भइरहेको जानकारी पाएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,” एसपी कट्वालले भने ।

तर, यस घटनाप्रति लेखापढी व्यवसायीहरूले आपत्ति जनाएका छन् । लेखापढी व्यवसायी संघ विराटनगरका अध्यक्ष कञ्चन न्यौपानेले प्रहरीले ज्यादती गरेको आरोप लगाए । आफूहरू सरकारले अनुमति र लाइसेन्स दिएर मान्यता प्राप्त रूपमा व्यवसाय गर्दै आएको दाबी गर्दै उनले प्रश्न गरे, “सरकारबाट नै लाइसेन्स पाएको व्यवसाय कसरी एक्कासि बिचौलिया भयो ?” पक्राउको विषयलाई लिएर लेखापढी व्यवसायी र प्रहरीबीच विवाद चर्किएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org