ताजा समाचार

रास्वपा, राप्रपा र जनमत पार्टीका कार्यालय अनुगमन गर्दै सरकार

काठमाडौँ । निर्वाचनको अनुकूल वातावरण निर्माण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका केन्द्रीय कार्यालय अनुगमन गर्ने भएको छ । यसका लागि सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज ती तीन दलका कार्यालय पुगेर अनुगमन तथा नेताहरूसँग वार्ता गर्ने कार्यक्रम तय गरेको छ ।

समितिका अनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर छलफल गरिनेछ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठन गरिएको समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग वार्ता र संवादलाई तीव्र बनाएको जनाएको छ । सञ्चारमन्त्री खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध रूपमा राजनीतिक संवादलाई निरन्तरता दिइएको बताए । उनले भने, “सरकार इमान्दारिताका साथ निर्वाचन सम्पन्न गराउन चाहन्छ भन्ने सन्देश दिनुका साथै दलहरूलाई सकारात्मक दिशातर्फ केन्द्रित गराउन यो पहल गरिएको हो।”

निर्वाचनसम्बन्धी वातावरण सुदृढ गर्न दलहरूको कार्यालयमै पुगेर संवाद गरिएको उल्लेख गर्दै मन्त्री खरेलले यसलाई विश्वास निर्माणको प्रक्रिया भने । यसअघि मंगलबार समितिले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का कार्यालयमा पनि अनुगमन तथा छलफल गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org