ताजा समाचार

ननिताको सफलता कथाः बडिबिल्डर अामा (भिडियोसहित)

nanita-maharjan-womens-first-builder-2-584b5c7f9dedd2-57571054काठमाडौः उनले शारीरिक सुगठन (बडी बिल्डिङ) को कला सिक्न थालेको पाँच महिना पनि भएको छैन । त्यसअघि उनलाई शारीरिक सुगठनबारे जानकारीसम्म थिएन । फिटनेस सेन्टरमा ‘साम्बा’ नाच सिकाउने उनको शरीर पहिल्यैदेखि सुगठित थियो । उनको शरीर देख्नेहरूले उनलाई शारीरिक सुगठनतर्फ लाग्न प्रेरित गरेका थिए ।

कीर्तिपुरकी ननिता महर्जनले अहिले त्यही खेलमार्फत महत्वपूर्ण उपलब्धि हात पारेकी छन्, जसमा समग्र खेल क्षेत्र एवं राष्ट्रले गर्व गरेको छ । गत मंगलबार थाइल्यान्डमा सम्पन्न शारीरिक सुगठन तथा फिटनेस विश्व च्याम्पियनसिपमा कास्य पदक जितेकी ननिता शुक्रबार स्वदेश फर्किएकी छन् । ननिताले महिलातर्फको एथलेटिक विधातर्फ एक सय ६५ सेन्टिमिटर स्पर्धामा कास्य पदक जितेकी हुन् ।

उनी शारीरिक सुगठनको विश्व च्याम्पियनसिपमा नेपाललाई पदक दिलाउने पहिलो महिला खेलाडी बनेकी छन् । ननिताको सफलता धेरै कारणले अर्थपूर्ण छ । खेलकुदको विश्वकप वा विश्व च्याम्पियनसिपमा पदक जित्नु नेपाली खेलाडीका लागि सहज मानिँदैन ।

त्यसमाथि पनि सम्बन्धित खेलमा छोटो समयको संलग्नता र तयारीमा विश्वस्तरको प्रतियोगितामा सहभागी हुनु ठूलो उपलब्धि हुन्छ । तर ननिता यस्ती खेलाडी बनिन्, जो शारीरिक सुगठनको कला सिक्न थालेको दुई महिनामै राष्ट्रिय च्याम्पियन बनिन् र त्यसको थप तीन महिनामा त विश्व च्याम्पियनसिपमै पदक जितेर राष्ट्रको प्रतिष्ठा बढाइन् ।

‘मैले प्रतिस्पर्धामा सक्दो प्रदर्शन गरेकी थिएँ । परिवार, सिनियर खेलाडी र सबैको सहयोगले यो उपलब्धि प्राप्त गर्न सक्दा गर्व लागेको छ’, शुक्रबार विमानस्थलमा ओर्लिएपछि ननिताले भनिन्, ‘यो सफलताबाट म निकै खुसी छु ।’

भिडियो हेर्नुहोस्

ननिता एक छोराकी आमा हुन् । उनको सात वर्षको छोरा छ । छोरा हुर्किएपछि खेलकुद सिकेर विश्व च्याम्पियनसिपमा देशका लागि पदक जितेको उदाहरण अन्तर्राष्ट्रिय खेलकुदमै विरलै पाइन्छ । ननिताले यो सफलताका लागि कठोर मेहनत गरेकी थिइन् ।

उनले पछिल्लो तीनचार महिनामा आफ्नो तौल झन्डै १३ केजी घटाइन् । विश्व च्याम्पियनसिपको तयारीअघि ६८ केजीकी उनी हाल ५५ केजीमा झरेकी छन् । तौल घटाउन उनले नुनदेखि पानीसम्म बारिन् । ‘ननिताले ऐतिहासिक सफलता सजिलै प्राप्त गरेकी होइनन्, यो उनको कठोर मेहनतको फल हो’, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले भने, ‘उनले प्रतियोगिताको तयारीका क्रममा आफ्नो नियमित खानामात्रै होइन, नुनदेखि पानीसम्म बारिन् ।’

३१ वर्षीया उनको सफलतामा परिवारको सहयोग र समर्थन पनि अर्को महत्वपूर्ण पक्ष बनेको छ । ननिताले विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको हेर्न र उनलाई हौसला बढाउन आमा, बुबा र दाइ थाइल्यान्ड नै पुगेका थिए । ननिताकी सासू उनको स्वागतका लागि विमानस्थलमै पुगेकी थिइन् । त्यसैले सफलताको रहस्य खोल्नुअघि ननिताले भनेकी थिइन्, ‘परिवारको सहयोगले आज विश्व च्याम्पियनसिपमा पदक सम्भव भयो ।’

ननिताको अबको उद्देश्य अर्काे वर्ष मंगोलियामा हुने नवौं विश्व च्याम्पियनसिप हो । उनले नवौं विश्व च्याम्पियनसिपमा नेपाललाई कास्यभन्दा माथिको पदक दिलाउने दृढता व्यक्त गरिन् । ‘मेरो अबको लक्ष्य भनेको अर्को वर्ष हुने विश्व च्याम्पियनसिप हो’, उनले भनिन्, ‘यसपटक मैले आफ्नो गल्ती र कमीकमजोरी पनि थाहा पाएकी छु, त्यसले अर्को वर्ष कास्यभन्दा माथिको पदक दिलाउने विश्वास पलाएको छ ।’

शारीरिक सुगठन तथा फिटनेस संघले पनि ननितालाई अर्को वर्ष हुने विश्व च्याम्पियनसिपको तयारीमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छ । ‘उनीसँग स्वर्णपदक जित्न सक्ने सम्भावना छ’, संघका उपाध्यक्ष राजभण्डारीले भने, ‘त्यसका लागि ननितालाई अहिलेबाटै तयारीमा राख्नेछौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org