ताजा समाचार

‘यातायातलाई भारत र चीनसँग जोड्न सकिए मुलुक समृद्धि हुन्छ’

वीरगन्ज, २९ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नेपालको यातायात क्षेत्रलाई भारत र चीनसँग जोड्न सकिए मुलुक आर्थिक रुपले समृद्धि हुने बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४१ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – देशको आर्थिक विकासका लागि निजी क्षेत्रले लगानी बढाउँदै लैजानुपर्दछ ।
मन्त्री लेखकले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर भएर संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गर्दै तराई मधेसको भावना समेटिने गरी संविधान संशोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

आयात निर्यातको केन्द्रविन्दुका रुपमा रहेको आर्थिक नगर वीरगन्जलाई ट्रान्सपोर्ट जोन बनाउन आफूले सरकारसमक्ष प्रस्ताव राख्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले तराई मधेसको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका हुलाकी राजमार्गको निर्माणका लागि ८४ प्रतिशत ठेक्का काम भइसकेको जानकारी दिनुभयो ।

मन्त्री लेखकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारसँग भएको सहमतिअनुरुप कार्य अगाडी बढेको बताउँदै यो राजमार्गको निर्माणले तराई प्रदेशको आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो ।
पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ जोडिएको महत्वपूर्ण नाकाहरु बनाउने सरकारको सोच रहेको बताउँदै उहाँले तराई मधेसमा समस्याका रुपमा रहेको यातायात पूर्वाधारको विकास गर्ने सोच सरकारको छ भन्नुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको सो समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य फर्मुल्ला मन्सुर, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकालगायतका वक्ताले वीरगन्जको आर्थिक विकासप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org