ताजा समाचार

त्रिवेणीघाटमा माधवनारायण मेला सम्पन्न

भक्तपुर । भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीघाटमा लागेको एक महिने माधवनारायण मेला एवम् व्रत आजबाट सम्पन्न भएको छ ।

नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको भक्तपुर नगरपालिकास्थित हनुमानघाटमा हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्लपूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेला आजबाट सम्पन्न भएको हो ।

नेसं ७२२ मा रणजित मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका सिलालेखमा उल्लेख गरिएको जानकारी दिदैं पूजारी चिरञ्जनराज राजोपाध्यायले यहाँस्थित त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले यहाँ व्रत बस्ने गरेको बताउनुभयो ।

आज बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ ।

राम, लक्ष्मण वनबास आउँदा दही चिउँरा खाने क्रममा पानीको व्यवस्था गर्न हनुमानले आफ्नो पुच्छरले खाल्डो बनाएर पानी निकालेको र उत्तर, दक्षिणबाट आएको खोला एवम् हनुमानले पुच्छरबाट पानी निकालेपछि आएको मूलको पानी मिश्रित हुने भएकाले पनि यस क्षेत्रलाई त्रिवेणीघाट भन्ने प्रचलन रहेको छ ।

व्रतालुले आँैसीदेखि नै खाली खुट्टा पैदल नै तीलमाधवबाट तलेजु भवानीसम्म, सप्तमीमा पनौती गएर त्रिवेणीमा बसेर स्नान गरि इन्द्रेश्वर महादेवको दर्शन गरेर अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नान गरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलशयात्रा गर्ने, द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org