ताजा समाचार

साना सिँचाइ योजना प्रभावकारी

पाल्पा  । वर्षौंदेखि बाँझिएका जग्गामा सिँचाइ हुन थालेपछि कृषकलाई ठूलो राहत मिलेको छ ।

जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको साना किसान सिँचाइ आयोजनाबाट जमिन सिञ्चित मात्र नभई यहाँका कृषकको जीवनस्तर उकासीएको छ । सिँचाइ अभावमा खण्डहरमा परिणत भएका जमिनमा पर्याप्त सिँचाइको सुविधा पुगेपछि कृषकको जीवनशैली फेरिँदै गएको छ ।

रामपुर नगरपालिका–२ गैराका कृषक शिवराज खड्का बाँझिएको पाँच रोपनी जग्गामा सिँचाइ पुगेपछि धान, गहुँ, मकै र तरकारी उत्पादनमा वृद्धि भएको बताउनुहुन्छ । बाह्रै महिना सिँचाइ गर्न सकिएपछि अन्नबालीसँगै अहिले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दैआएको उहाँको भनाइ छ ।

“सिँचाइ अभावले उत्पादन हुँदैनथ्यो, परिवार पाल्न सधैँ बजारबाट किनेर ल्याउनुपथ्र्यो,” खड्काले भन्नुभयो, “दुई वर्षयता घरकै उत्पादनले गुजारा चलेको छ ।”

रामपुर–६ का हबिबुर रहमान सेखले पाँच मुरी धान फल्ने खेतबाट अहिले ६० मुरी धान उत्पादन गर्नुहुन्छ । सिँचाइको अभावमा आकासे पानीको भरमा खेती गर्दै आउनुभएका सेखको बाँझिएको १० रोपनी जग्गामा पर्याप्त सिँचाइ पुगेको छ । “तीन वर्ष अगाडि कृषि विकास कार्यालयले कुलो निर्माण गरेपछि जग्गा सदुपयोगमा आएको छ,” उहाँले भन्नुभयो ।

सिँचाइ सुविधा पुगेको खण्डमा थोरै जग्गामा पनि प्रशस्त आम्दानी हुने कृषक बताउँछन् । रामपुर–११ सेराका दुर्गादेवी आचार्य आशा मारिसकेको ११ रोपनी जग्गा अहिले सिञ्चित हुँदा सहज रुपमा तरकारी खेती गर्न सकेको बताउनुहुन्छ । सिँचाइ अभावमा खेती गर्न छाडेको सो जग्गामा अहिले धान, मकै, गहुँ, तरकारी उत्पादनका लागि कुनै समस्या छैन ।

कृषि विकास कार्यालयले आव २०५८÷५९ देखि जिल्लामा साना सिँचाइ कार्यक्रम सञ्चालनमा ल्याएपछि खेर गएका बाँझिएका जग्गामा सिँचाइ सुविधा पुगेको हो । बाँझिएका आठ हजार ७५० हेक्टर जमिनमा सिँचाइको पर्याप्त सुविधा पुगेको छ । चालु आवमा २१ वटा कुलो निर्माण तथा १४० वटा प्लास्टिक पोखरी निर्माणका लागि ९४ कृषि सहकारी समूहलाई छनोट गरेको बाली विकास अधिकृत हसमुल्लाह खानले बताउनुभयो ।

त्यस्तै, जिल्लामा आव २०६५÷६६ मा सञ्चालन भएको आइडब्लु आरएमपी कार्यक्रमअन्तर्गत अहिलेसम्म १५ वटा उपआयोजना सञ्चालनमा छन् । रामपुर, कसेनी, कोलडाँडा, मदनपोखरा, दोभान, पोखराथोक, अर्गली, सोमादी, सत्यवती र चिदिपानी क्षेत्रका पाँच सय बढी हेक्टर जमिन सिञ्चित भएको छ । एक हजार १०० घरधुरीका पाँच हजार ८०० जना लाभान्वित भएका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org