ताजा समाचार

सङ्घीयतासहितको शिक्षा नियमावली आउँछ : प्रधानमन्त्री

काठमाडौँ, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा ऐन (आठौँ संशोधन), २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गराइने आश्वासन दिनुभएको छ ।

गत असारमा ऐन संशोधन भए पनि हालसम्म नियमावली नआउँदा शिक्षा क्षेत्रमा अन्योल उत्पन्न भएको भन्दै आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएपछि उहाँले सो आश्वासन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले नयाँ संविधानले स्थानीय तहलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण अधिकार दिएकाले यसलाई समेत व्यवस्थित गराउने गरी नयाँ शिक्षा ऐन अनुकूलको नियमावली जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तथा सार्क शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले आफूहरुलाई सङ्घीय संरचनासहितको नियमावली आउँदा कुनै आपत्ति नहुने तर त्यसका नाममा जारी गर्न ढिला गर्न नहुने आग्रह गर्नुभयो ।

सो प्रतिनिधिमण्डलले आजै उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि तथा उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापालाई पनि सो विषयबारे अवगत गराएको जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org