ताजा समाचार

आइजिपी नहुँदा प्रहरीमा भद्रगोल,निमित्तको आदेश कसैले टेदैनन्

 

काठमाडौं ।  दुई महिनादेखि महानिरीक्षकविहीन बनेको नेपाल प्रहरीमा निमित्त आइजिपी डाक्टर दिनेशचन्द्र पोखरेल भएपनि इलाका प्रहरी चौकीदेखि प्रधान कार्यालयसम्म समस्या देखिन थालेको छ । निमित्त आइजिपी बनेका डाक्टर दिनेशचन्द्र पोखरेललाई केही निर्णय गर्ने अधिकार नरहेकोले मुनिका प्रहरी अधिकृत उनलाई टेर्दैनन्।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पोखरेललाई कुनै अधिकार नदिएकाले एसएसपी र डिआइजी तहका प्रहरी अधिकृतले समेत उनको आदेश पालना गर्दैनन्। संगठनको काममा पोखरेललाई उनको सचिवालयमा रहेका एसएसपी सर्वेन्द्र खनालले सघाइरहेका छन् र प्रहरी अधिकृतलाई दिइने बिफ्रिङ, मातहतका निकायलाई दिने निर्देशन पनि एसएसपी खनालले नै तयार पारदिने गरेको स्रोतले बतायो।
फागुन २ गते उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरे पनि सर्वोच्चले चैत ८ गते त्यो निर्णय बदर गरिदियो।

प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय बदर गर्दै चाँडोभन्दा चाँडो आइजीपी नियुक्त गर्न परमादेश जारी गरेको थियो।
अदालतले परमादेश दिएको दुई साता बितिसक्दा पनि सरकारले प्रहरीको आइजीपी नियुक्त गर्न सकेको छैन । अहिले एआइजी डाक्टर दिनेशचन्द्र पोखरेलले निमित्त आइजीपी बनेर प्रहरी चलाइरहेका छन्।

प्रहरी प्रमुख नियुत्त नहुदाँ संगठनले कुनै बजेट चलाउन नपाउने भएका कारण प्रहरी बस्दोबस्तीका सामान पनि किन्न नसकिएको अवस्थामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै संगठन प्रमुख नहुदाँ डिआइजी हुुनुपर्ने एसएसपीहरु, एसएसपी हुनुपर्ने एसपीहरु र एसपी हुनुपर्ने डिएसपीहरुको बढुवा पनि रोकिएको छ। १ वर्षपछि आइजीपी हुने एसएसपीमा नै थन्किएर रहेका छन्।
प्रहरी प्रमुख नहुदाँ माथिल्लो तहबाट आउने दबाब कम भएपन यसले गर्दा प्रहरीको काम कारबाहीमा भने ढीला सुस्ती आएको एक प्रहरीले बताएका छन्

प्रहरी प्रमुख कसलाई बनाउने भन्ने विवादले अझै नेपाल प्रहरी अन्योलमा रहेको छ,’ एक प्रहरी अधिकृतले भने ‘राजनीतिक हस्तक्षेपका कारण हाम्रो संगठन इन्जिन नभएको रेलजस्तै थन्किएको छ, कुनै नीतिगत निर्णय गर्न सकेको छैन, केही पनि गर्न नसक्ने, कतैपनि चल्न नसक्ने अवस्थामा प्रहरी संगठन पुगेको छ।’
आइजीपीले प्रयोग गर्ने अधिकार मात्र निमित्त आइजीपीलाई दिएको भए, चेन अफ कमाण्ड पनि नभत्कने, नीतिगत निर्णय गर्न सकिने, तल्लो तहका प्रहरी अधिकारीले निमित्त आइजीपीलाई टेर्ने अवस्था हुने ती प्रहरी अधिकृतले बताए । प्रायजसो काम खनालको सहयोगमा पोखरेलले जेनतेन चलाएका छन् तर अर्को महिना हुने स्थानीय तहको चुनावमा उनको आदेश प्रहरी ले टेर्लान् भन्ने आम जिज्ञासा जनमानसमा आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org