ताजा समाचार

धातु मूर्तिकलामा बुट्टा भर्न सिपालु शाक्यको निधन

ललितपुर, २७ चैत । वरिष्ठ परम्परागत मूर्तिकार भीम शाक्यको ८६ वर्षका उमेरमा शनिबार आफ्नै निवास पाटनमा बिहान निधन भएको छ ।
विसं १९९० मा जन्मनुभएका शाक्य छ दशकभन्दा लामो समय निरन्तर मूर्तिकलामा हुनुहुन्थ्यो ।
पन्ध्र वर्षका उमेरमा तिब्बत जानुभएका शाक्यले त्यहाँ आठ वर्ष बिताउनुभएको थियो । उहाँ कलाकर्मका साथै तिब्बतमा भिक्षुसमेत हुनुभयो ।
लामो समय नेपाली परम्परागत मूर्तिकलामा लागेर शाक्यले नेपाली मौलिक कलाको इतिहासलाई जगेर्ना गर्ने काम गरेको नेपाल ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।
धातु मूर्तिकलामा बुट्टा भर्न विशेष दखल राख्ने शाक्यले सयौंँ मूर्तिकला सिर्जना गर्नुभएको छ । मूर्तिमा बुट्टा तथा रङ भर्ने काममा सक्रिय शाक्यले शुक्रबार बेलुकासम्म काम गरेको युवा मूर्तिकार राजन शाक्यले बताउनुभयो ।
गत बुधबारसम्म १५–२० व्यक्तिलाई मूर्तिकलाका बारेमा आफ्नै निवासमा शाक्यले प्रशिक्षण दिएको बताउँदै अर्का कलाकार प्रदीप शाक्य भन्नुहुन्छ, “उहाँले एकदम सक्रिय रुपमा प्रशिक्षार्थीलाई आफ्नो ज्ञान दिनुभएको थियो ।” नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै वरिष्ठ पौभा कलाकार लोक चित्रकार भन्नुहुन्छ, “नेपाली कलामा लामो समयदेखि सक्रिय कलाकारको निधनबाट राष्ट्रकै लागि क्षति पुगेको छ ।”
भीम शाक्यलाई राज्यले उचित सम्मान दिन नसकेको बताउँदै राकेश अवालेले भन्नुभयो,“राष्ट्रका लागि वहाँको योगदान अतुलनीय रहेको छ । वहाँ जस्ता मूर्धन्य व्यक्तित्वको अभाव नेपाली कला क्षेत्रमा लामो समयसम्म रहिरहने छ ।”
शाक्यलाई नेपाल हस्तकला महासङ्घले दुई पटक सम्मान गरेको छ । नेपाल ललितकला संस्था (नाफा), पाटन सङ्ग्रहालय, ललितपुर उद्योग सङ्घलगायत एक दर्जन बढी सङ्घसंस्थाले शाक्यलाई सम्मान गरेको उहाँका भान्जा फल्समान शाक्यले जानकारी दिनुभयो । भान्जा फल्समानले मामालाई २० वर्षदेखि निरन्तर सहयोग गर्दै आउनुभएको थियो । शाक्यकी श्रीमती हुनुहुन्छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org