ताजा समाचार

संविधान संशोधनको विपक्षमा उभिने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं १४ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ दलीय विपक्षी गठबन्धनले सरकारद्वारा संसदमा पेस भएको संविधान संशोधन विधेयकको विपक्षमा उभिने औपचारिक निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधन विधेयकमाथि थप संशोधन हाल्ने निर्णय समेत गरेको छ । बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले विपक्षी दलहरुले संयुक्त र दलगत रुपमा छुट्टाछुट्टै संशोधन हाल्ने निर्णय भएको बताएका हुन् ।

गठबन्धन आबद्ध दलमा एक तिहाई भन्दा बढी सांसद रहेका छन् । विपक्षी गठबन्धनको एकता कायम रहेमा संसदमा सरकारद्धारा पेश भएको संशोधन विद्येयकमा दुई तिहाई नपुग्ने देखिन्छ । तर, सरकारले एमालेको समर्थन बिना पनि संशोधन प्रस्ताव पारित हुने दाबी गर्दै आएको छ ।

सरकारले मधेसी मोर्चासहित आन्दोलनरत दलहरुलाई निर्वाचनमा सहभागि गराउन भन्दै संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक झन राष्ट्रहित विपरीत रहेको गठबन्धनको निष्कर्ष छ । मधेशी मोर्चाले बटमलाईन बनाएको प्रदेश सीमा हेरफेर, भाषा र प्रदेशको अधिकार कटौती लगायतका बिषयमा विपक्षी गठबन्धनले गम्भिर असहमती राख्दै आएका छन् । गठबन्धनमा एमाले, माले, नेमकिपा, परिवार दल लगायतका नौ दल सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org