ताजा समाचार

निर्वाचनको दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने


काठमाडौं, ३० बैशाख । आइतबार हुने पहिलो चरणको निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ । निर्वाचनको दिन विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवालाई नियमित बनाउन आवश्यक व्यवस्था गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार वैशाख ३१ गते यात्रुलाई विमानस्थलदेखि गन्तव्यसम्म आवतजावतलाई सहज बनाउन पर्यटक बस र साझा यातायातलाई सेवा सञ्चालनका लागि आग्रह गरिएको छ । विमानस्थलमा चल्ने ट्याक्सीले निर्वाचन आयोगबाट कम पास पाएकाले नचलाउने निर्णय गरेकाले थप यातायातको व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

हाल विमानस्थलमा २०८ भाडाका ट्याक्सी गुड्ने गरेकामा ३५ वटाले मात्र ‘पर्मिट’ पाएका छन् । थोरैले चलाउने हुँदा आपसमा झगडा हुने भएकाले सबै ट्याक्सी नचलाउने निर्णय भएको बताइएको छ । विमानस्थलले आफ्ना तीनवटै ‘सिफ्ट’का कर्मचारीलाई आवतजावतका लागि पाँच वटा सवारीसाधनको व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताए ।

त्रिअविमा अहिले अन्तर्राष्ट्रियतर्फ ९० र आन्तरिकतर्फ ३०० बढी दैनिक उडान हुँदै आएको छ । अन्तर्राष्ट्रियमा २८ र आन्तरिकतर्फ ९हेलिकप्टरसहित० २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् । विमानस्थलका पर्यटक तथा यात्रुको सुविधालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन उपत्यकाका विभिन्न चार वटा रुटमा पर्यटक बस चलाउने भएको छ ।

विमानस्थलदेखि पाँचतारे होटललाई लक्षित गरी चार वटा रुटमा पर्यटक बस चलाउने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिए । यो सेवा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुलाई दिइनेछ । बोर्डले विगतका बन्द हडतालका बेला सेवा दिइ रहेकै चार वटा रुटमा पहिलो उडानदेखि अन्तिम उडानसम्म बस सञ्चालन गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org