ताजा समाचार

जघन्य अपराधमा संलग्नहरूको मुद्दा फिर्ता हुँदैनन्ः प्रधानमन्त्री कार्यालय

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको टीकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरूको मुद्दा फिर्ता नहुने स्पष्ट पारेका छन् । बिहीबारको मन्त्रीपरिषद बैठकले तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा स्वीकार गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरोध भएपछि प्रधानमन्त्री दाहालले शुक्रबार बिहान आफ्नो निजी सचिवालयमार्फत प्रेस नोट जारी गरेर जनघन्य अपराधमा संलग्नहरूको मुद्दा फिर्ता नहुने स्पष्टीकरण दिएका हुन् ।

मन्त्रिपरिषद बैठकको निर्णयलाई लिएर सञ्चार माध्यमहरूमा आएका समाचारहरूबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले जघन्य अपराधका दोषीहरूको मुद्दा लिने सरकारी निर्णयसम्बन्धि प्रकाशित समाचारको खण्डन गरेको हो ।

मन्त्रिपरिषदको बैठकले टीकापुर लगायतका हत्याका घटनामा संलग्न नभएका तर आशंका र पूर्वाग्रहकै आधारमा झुट्टा मुद्दा लगाइएका व्यक्तिहरूका मुद्दा कानून बमोजिम मिल्ने गरी फिर्ता गर्ने प्रक्रियाको गृहकार्य थाल्न कानून मन्त्रालयको परामर्शमा गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

बिहीबारको बैठकले तराई–मधेश आन्दोलनलाई राजनीतिक आन्दोलन ठहर गरेको थियो । दोस्रो चरणको स्थानीय तह निर्वाचनको वातावरण बनाउन सरकारले घटनामा असंलग्नहरूमाथि लगाएका झुट्टा मुद्दा कानून बमोजिम फिर्ताको प्रक्रिया थाल्ने निर्णय गरेको थियो । प्रधानमन्त्री सचिवालयले दोस्रो चरणको निर्वाचन बाँकी नै रहेकाले संयमित भएर निर्वाचनको तयारीमा जुट्न समेत सबैमा अपील गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org