ताजा समाचार

सद्दामलाई फाँसी दिएकोमा अमेरिकी सैनिक भक्कानिएर रोएका थिए

काठमाडौं, २६ जेठ । सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम मित्र भने पक्कै भए । सद्दामको अन्तिम क्षणसम्म सँगै भएका ५५१ मिलिट्री पुलिस कम्पनीले चुनेका यी सैनिकलाई ‘सुपर ट्वेल्व’ भनिन्छ ।

यीमध्ये एक विल बार्डेनवर्परले एक किताब लेखेका छन्, ‘द प्रिजनर इन हिज प्यालेस, हिज अमेरिकन गार्डस् एण्ड ह्वाइट हिष्ट्रि लेफ्ट अनसेड’ जसमा उनले सद्दाको सुरक्षा गरेको बारे र उनको अन्तिम दिनको विवरण सार्वजनिक गरेका छन् । बार्डेनवर्परका अनुसार जब सद्दामलाई फाँसी दिने व्यक्तिहरुलाई सुम्पिइयो थिए तब उनको सुरक्षामा तैनाथ सबै सैनिकको आँखामा आँसु रसाएका थिए ।

‘हजुरबुवाजस्तै देखिन्थे सद्दाम’:

वार्डेनवर्पर आफ्ना एक साथी एडम रोजसनलाई उद्धृत गर्दैै लेख्छन्, ‘हामीले सद्दामलाई एक मनोविकृत हत्याराको रुपमा कहिले पनि हेरेनौं । उनीमा हामीले हजुरबुवाको आकृती देखेका थियौं ।’ सद्दाममाथि आफ्ना १ सय ४८ विरोधीको हत्याको आदेश दिएका कारण मुद्दा चलाइएको थियो ।

उनले इराकी जेलमा आफ्ना अन्तिम दिन अमेरिकी गायिका मेरी जे ब्लाइजाको गीत सुनेर बिताए । उनी आफ्नो पुरानो एक्सरसाइज बाइकमा बस्न रुचाउँथे जसलाई उनी ‘पोनी’ भनेर बोलाउने गर्दथे । उनलाई गुलियो खान निकै मनपर्दथ्यो र उनी सधैं मफिन खानका लागि आतुर हुन्थे । बार्डेनवर्परका अनुसार सद्दाम आफ्नो अन्तिम दिनमा ती मानिसहरुप्रति निकै नम्र व्यवहार गर्दथे र आफ्नो जमानामा उनी निकै क्रुर शासक थिए भन्ने कुराको आभाष कहिले पनि दिलाएनन् ।

कास्त्रोले सिगार पिउन सिकाएः

सद्दामलाई ‘कोहिबा’ सिगार पिउने शौख थियो जसलाई उनले चिसो वाइप्सको डब्बामा राख्दथे । उनले फिदेल कास्त्रोले वर्षौं पहिले सिगार पिउन सिकाएको उनले बताउने गर्दथे ।

बार्डेनवर्परले वर्णन गरे अनुसार सद्दामलाई बागबानीको निकै शौख थियो र उनी जेल परिसरमा उम्रिएका घाँसलाई पनि एक सुन्दर फूलको रुपमा हेर्ने गर्दथे । सद्दाम आफ्नो खानेकुरामा निकै संवेदशील हुने गर्दथे ।

उनी नाश्तामा सबैभन्दा पहिले अमलेट खान्थे, त्यसपछि मफिन र पछि ताजा फल खान्थे । यदि गल्तीपूर्वक उनको अमलेट फाट्यो भने उनी त्यो खाँदैनथे । बार्डेनवर्पर सद्दामले आफ्ना छोरा उदयको क्रुरताको एक विभत्स कथा सुनाएको जसका कारण सद्दाम निकै रिसाएको घटना सम्झन्छन् ।

भएको के थियो भने उदयले एक पार्टीमा गोली चलाएका थिए जसका कारण थुप्रै मानिसको मृत्यु भएको थियो भने धेरै मानिसहरु घाइते भएका थिए । यसमा सद्दाम यतिधेरै रिसाएका थिए कि उनले उदयका सबै कारमाथि आगो लगाइदिन आदेश दिएका थिए ।

सद्दामले उदयको महँगा रोल्स रोयस, फरारी र पोर्श कारहरुको संग्रहमा आगो लगाइदिएको र त्यसबाट निस्किएको आगोको राँकोलाई घुरेर हेरेको घटनाबारे पनि जानकारी दिएको बार्डेनवर्परले सम्झिए ।

दयालु सद्दामः

सद्दामको सुरक्षामा खटिएका एक अमेरिकी सैनिकले सद्दामलाई आफ्नो भाइको हत्या भएको कुरा सुनाए । यो सुनेर सद्दामले उनलाई अँगालो हाल्दै भनेका थिए, ‘आजदेखि तिमी मलाई आफ्नो भाइ सम्झिउ ।’

सद्दामले एक अन्य सैनिकलाई यदि उनलाई उनको सम्पत्ति प्रयोग गर्ने अनुमती भए उनले ती सैनिकका छोराको कलेजको खर्च उठाउन आफू तयार भएको बताएका थिए ।

एक रात सबैले २० वर्षका सैनिक डसनलाई एक खराब नापको सूटमा घुमिरहेको देखे तब थाहा भयो कि डसनलाई सद्दामले आफ्नो उक्त सूट उपहारस्वरुप दिएका थिए । विल बार्डेनवर्पर, जो सद्दाम हुसैनको सुरक्षामा राखिएका ‘सुपर ट्वेल्व’ अमेरिकी सैनिकका हिस्सा थिए ।

बार्डेनवर्पर लेख्छन्, ‘थुप्रै दिनसम्म हामी डसनमाथि हाँसिरह्यौं किनभने उनी उक्त सूट लगाएर यस्तो प्रकारले हिँड्दथे कि उनी कुनै फेसन शोको ‘क्याटवक’ मा हिँडिरहेका छन् ।’

सद्दाम र उनको सुरक्षारर्थ राखिएका सुरक्षाकर्मीबिचको सम्बन्ध दिनानुदिन सुमधुर हुँदै गयो यद्यपी, उनीहरुलाई सद्दामसँग नजिक नहुनु भन्ने कडा आदेश थियो । हुसैनलाई उनको मुद्दाको क्रममा दुईवटा जेलमा राखिएको थियो ।

बार्डेनवर्पर लेख्छन्, ‘हामीले सद्दामलाई उनले अधिकारस्वरुप पाउने कुराभन्दा केही बढि दिएनौं । तर हामीले उनको गरिमालाई कहिले पनि आहत हुन दिएनौं ।’ स्टिव हचिंसन, क्रिस टास्कर र अन्य सुरक्षाकर्मीले एक स्टोर रुमलाई सद्दामको अफिसको रुपमा बनाउने कोसिस गरेका थियौं ।
लेखक र पूर्व अमेरिकी सैनिक विल वार्डेनवर्पर

‘सद्दामको दरबार’ बनाउने कोसिसः

सद्दामलाई ‘सरप्राइज’ दिने योजना बनाइयो । पुरानो स्टोर रुममा एउटा सानो मेच र छालाको कभर भएको कुर्सी राखियो र मेचमाथि इराकको सानो झण्डा राखियो ।

बार्डेनवर्पर लेख्छन्, ‘यी सबैको पछाडि यो विचार थियो कि हामी जेलमा पनि सद्दामका लागि एक शासनाध्यक्षको अफिसजस्तो माहौल पैदा गर्ने कोसिस गरिरहका थियौं । सद्दाम उक्त कोठामा पहिलो पटक छिरे, एक सैनिकले मेचमाथि जमेको धुलो झार्ने कोसिस गरेका थिए ।’

सद्दामले ती सैनिकको व्यवहार याद गरे र उनी कुर्सीमा बसेर मज्जाले मुस्कुराए । सद्दाम दैनिक उक्त कुर्सीमा आएर बस्दथे र उनको सुरक्षामा तैनाथ सैनिक उनको अगाडि राखिएको कुर्सीमा बस्ने गर्दथे । माहौल यस्तो हुन्थ्यो कि सद्दाम आफ्नो दरबारमा बसिरहेका छन् ।

बार्डेनवर्परका अनुसार सैनिकले सद्दामलाई खुसी राख्नका लागि पूरा कोसिस गरिरहन्थे । बदलामा सद्दाम पनि उनीसँग हाँसो ठट्टा गर्दथे र वातावरणलाई निकै रमाइलो बनाउने गर्दथे । बार्डेनवर्परलाई केही सैनिकले यदि उनीहरुमाथि केही नराम्रो भएको भए सद्दाम उनीहरुलाई बचाउनका लागि आफ्नो ज्यान नै बाजी लगाउन पनि पछि नहट्ने विश्वास भएको बताउने गर्दथे ।

सद्दामले मौका पाउने बित्तिकै उनी आफ्नो सुरक्षा गरिरहेका सैनिकसँग उनको परिवारको हालखबर सोध्ने गर्दथे । सद्दाम हुसैनलाई अमेरिकी सैनिकले एक बंकरबाट पक्राउ गरेका थिए ।

यो कितामा सबैभन्दा चकित गरिदिने एक किस्सा छ । किताबमा लेखिए अनुसार सद्दामलाई फाँसीमा चढाइएपछि यी सैनिकले शोक मनाएका थिए जबकी सद्दाम अमेरिकाका कट्टर दुश्मन मानिन्थे ।

ती सैनिकमध्ये एक एडम रोजरसनले विल बार्डेनवर्परलाई भने, ‘सद्दामलाई फाँसी दिएपछि हामीले उनीमाथि गद्दारी गरेको जस्तो भान भएको छ । हामीले आफूलाई उनको हत्याराको रुपमा हेरिरहेका छौं । हामीलाई यस्तो लाग्यो कि हामीले यस्तो व्यक्तिलाई मारेका छौं जो हाम्रा निकै नजिक थिए ।’

सद्दामलाई फाँसी दिएपछि जब उनको शवलाई बाहिर ल्याइयो तब त्यहाँ उभिएको भीडले उनीमाथि थुकेका थिए र उनीमाथि दुव्र्यवहार गरेका थिए ।

अमेरिकी सैनिक हैरान थिएः

बार्डेनवर्परका अनुसार उक्त दृश्य देखेर सद्दामको अन्तिम समयसम्म सुरक्षा गर्ने १२ सैनिक भक्कानिएका थिए । उनीहरुमध्ये एक व्यक्तिले भीडसँग झगडा गर्ने कोसिस पनि गरेका थिए तर उनका साथीहरुले उनलाई फिर्ता तानेका थिए । ती सैनिकमध्ये एक स्टिव हचिन्सनले सद्दामलाई फाँसी दिएपछि अमेरिकी सेनाबाट राजीनामा दिएका थिए ।

हचिन्सन यतिबेला जर्जियामा बन्दुक र ट्याक्टिल तालिमाको कारोबार गर्दछन् । उनलाई अहिले पनि सद्दाम हुसैनको शवलाई अपमान गर्ने इराकी विरुद्ध झगडा नगर्न आदेश पाएकोमा पश्चाताप लागेको बताउँछन् । सद्दाम अन्तिम दिनसम्म पनि आफूलाई फाँसी नहुने कुरामा आशावादी थिए ।

एक सैनिकले एडम रोजरसनले बार्डेनवर्परलाई एक पटक सद्दामले उनलाई कुनै महिलासँग प्रेम गर्ने मन भइरहेको बताएका भनी जानकारी दिए । रोजरसनसँग सद्दामले जेलबाट छुटेपछि एकपटक पुनः विवाह गर्ने बारे कुरा गरेको बार्डेनवर्परलाई उनले जानकारी दिए । ३० डिसेम्बर सन् २००६ मा सद्दाम हुसैनलाई ठीक तीन बजे उठाइयो ।

उनलाई केही क्षणभित्रै फाँसी दिइने जानकारी दिइयो । यो सुन्नेबित्तिकै सद्दाम भित्रभित्रै टुटे । उनले चुपचाप नुहाए र आफूलाई फाँसीका लागि तयार गरे । त्यतिबेला पनि उनको एकमात्र चिन्ता थियो, ‘के सुपर ट्वेल्वलाई निन्द्रा लाग्यो ?’

आफ्नो फाँसीको केही मिनेट पहिले सद्दामले स्टिव हचिन्सनलाई आफ्नो जेलको कोठा बाहिर बोलाए र आफ्नो हात बाहिर निकालेर ‘रेमन्ड वील’ हाते घडी उनलाई सुम्पिए ।

जब हचिन्सनले विरोध गरे तब सद्दामले जर्बजस्ती उक्त घडी उनको हातमा लगाइदिए । हचिन्सनको जर्जियाको घरमा एक सेफभित्र उक्त घडी अहिले पनि टिक–टिक गरिरहेको छ । बीबीसीको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org