ताजा समाचार

काठमाडौंलाई बस्न लायक शहर बनाउन एनआरएनएले सहयोग गर्ने

काठमाडौं, ३० जेठ । काठमाडौंलाई बस्न लायक शहर बनाउन एनआरएनएले सघाउने भएको छ । राजधानी काठमाडौंलाई कसरी बस्नलायक शहर बनाउने भन्नेबारे गैरआवासीय नेपाली संघ र काठमाडौं महानगरपालिकाबीच भएको छलफलमा एनआरएनएले सघाउने प्रतिबद्धता जनाएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच भएको भेटमा काठमाडौंलाई विश्वका बस्नलायक सहरको सूचीमा पार्नेगरी काम गर्न संघ र महानगरपालिकाबीच सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल भएको थियो । सो अवसरमा अध्यक्ष घलेले काठमाडौंको वातावरण र पूर्वाधारको अहिलेको अवस्थामा सुधार गर्न गैरआवासीय नेपालीहरुले सीप र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्न सक्ने बताए ।

‘विश्वकै उत्कृष्ट बस्नलायक शहरमा सूचीकृत भएका ठाउँमा गैरआवासीय नेपालीहरु बसिरहेका छन्,’ अध्यक्ष घलेले भने, ‘ती शहरका अनुभव, सीप र प्रविधि काठमाडौंमा विस्तार गर्न सके काठमाडौंलाई पनि बस्नलायक बनाउन सकिन्छ, त्यसका लागि हामी गैरआवासीय नेपालीले सहयोग गर्न सक्छौं ।’

घलेले सिस्टर सिटीको सम्बन्ध कायम गर्ने अवधारणाअनुसार केही नमूना शहरसँग सहकार्य गरी सुधारका काम थाल्न सकिने सुझाव दिएका छन् । संघ र महानगरपालिकाबीच बेग्लै सम्झौता गरी यो कार्यलाई अगाडी बढाउन उनले प्रस्ताव गरे ।

नवनिर्वाचित मेयर शाक्यले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै गैरआवासीय नेपालीहरुबाट महानगरपालिकाले धेरै सिक्न सक्ने बताए । एनआरएनहरुले विदेशमा देखेका र भोगेका सुधारका उपाय तथा प्रविधि नेपालमा लागू गर्न सुझाव तथा सहयोग मिल्ने विश्वास आफूले राखेको उनले उक्त अवसरमा बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org