ताजा समाचार

‘डन’ दावा लामा सिंगापुरमा मस्ती गर्दै, उनलाई गोली हान्ने दिल्लीमा, यता प्रहरीलाई भने तनाव

काठमाडौं, १ असार । यतिबेला कथित डन अर्थात गुण्डा नाइके दावा लामा सिंगापुरतिर फरार छन् । गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दीको राज अन्त्य गर्ने बताईरहेका बेला गुण्डा नाइके दावा लामा आफ्ना दुई जना साथीलिएर सिंगापुरमा मोज गरिरहेका छन् । केही समय पहिले दावालाई गोली हान्ने व्यक्ति भने यतिबेला दिल्लीमा रहेका छन् ।

महानगरीय अपराध महाशाखाले दावा लामा गोली काण्डको तथ्यबारे कुनै सुईंको पाउन सकिरहेको छैन् । त्यसको प्रमुख कारण स्वयम उनी दावा नै हुन् । उनी प्रहरीले सहयोग गर्नुको साटो सिंगापुर पुगेका हुन् । प्रहरीलाई सहयोग गरे आफुसमेत फस्ने डरले दावा आफुलाई गोली हान्ने व्यक्तिलाई पक्रन सहयोग गर्नमा कुनै चाँसो दिएका छैनन् । लामामाथि गोली प्रहार हुँदा लोप्साङ राई भन्ने व्यक्तिले एसएसपी छविलाल जोशीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

लामाका दुस्मन रहेका राईले बाफलका डन समिरमानसिंह बस्नेतको निर्देशमा लामामाथि गोली हानेको निष्कर्ष निकाल्दै अनुसन्धान त्यतातिर मोडिए पनि प्रहरीलाई कुनै सफलता हात पर्न सकिरहेको छैन् । किनकी बस्नेत कहिले मलेसिया त कहिले बैंङकक र कहिले दिल्लीमा लुकेर बस्दै आएका छन् ।

प्रहरीले लोप्साङ राई भन्ने व्यक्तिको बारेमा पनि कुनै सुईको पाउन सकेको छैन । लामाका सहयोगी गणेश लामाको समूहले भने आफ्ना दुस्मन रहेका केही व्यक्ति विरुद्ध लामालाई किटानी जाहेरी हाल्न उक्साउँदै आएका छन् । तर, महाशाखाले भने फर्जी भन्दै जाहेरी नै लिन मानेको छैन ।

नेपाली कांग्रेस काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तीर्थ लामाको संरक्षणमा राजधानीमा गुण्डागर्दी गर्दै आएका लामा डरका कारण नै सिङ्गापुरतिर पुगेको स्रोतको भनाई छ । लामाले अब बस्नेतकै शैलीमा विदेशबाट फिरौती धन्दा चलाउन सक्ने भय पनि बढेको छ । किनकी उनी राजधानीमा जबरजस्ती असुली, अपहरण, ठेक्का पट्टा, कुटपिटलगायतका गैरकानूनी क्रियाकलापमा संलग्न हुँदै आएका थिए । लामाका कारण यस अघि शान्ति सुरक्षामा चुनौती बढेको थियो । तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिको ठाडो दवाव र आदेशमा पक्राउ परेका लामालाई प्रहरीले छाड्नु परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org