ताजा समाचार

दार्जिलिङ भारतको आन्तरिक मामिला हो कि नेपालक‍ो ? नेपालमा छलफल गर्न प्रस्ताव

काठमाडौं, १ असार । यतिबेला भारतको दार्जीलिङमा गोर्खा ल्याण्डको माग गर्दै आन्दोलन चर्किरहेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली भाषीहरुले गोर्खा ल्याण्डलाई अलगै राज्य बनाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले गरिरहेको आन्दोलन भने लामो समयदेखिको हो । उनीहरु बेला बेलामा राज्यसँग आफ्नो अधिकार माग्न तम्सिन्छन् ।

आफ्नो मागलाई बलियो बनाउन तथा आफ्नो आन्दोलनलाई सशक्त बनाएर लैजान भन्दै गोर्खा जनमुक्ति मोर्चाको गठन गरेर संघर्ष गरिरहेका छन् । यतिबेला गोर्खा जनमुक्ति मोर्चा अगल राज्यको माग तथा नेपाली भाषालाई सरकारी कामकाजी भाषाको माग गर्दै आन्दोलनमा छ । सरकारी पक्षले त्यस क्षेत्रमा रहेको बंगाली भाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेपछि आन्दोलन थप चर्किएको हो ।

आन्दोलनलाई भारतीय सरकारले मत्थर पार्न भन्दै व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ । भारतीय सुरक्षाकर्मीहरुले पनि भारतीय सरकारको आदेशअनुसार आन्दोलनलाई विफल पार्न भन्दै महिला तथा बालबालिमामाथि कुटपीट गर्ने, पक्राउ गर्ने लाठी चार्ज गर्ने जस्ता निन्दनीय कार्य भईरहेको छ ।

उक्त कदमको भारतका विभिन्न राजनीतिक पार्टी तथा मानवअधिकावादी संघसंस्थाले विरोध जनाईरहेका छन् । तर राज्यले विरोधको वेवास्था गर्दै जसरी पनि आन्दोलन तुहाउन कार्यमा लागिपरेको छ । गोर्खा ल्याण्ड आन्दोलनको नेतृत्व गोर्खा राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष विमल गुरुङले गरिरहेका छन् ।

अध्यक्ष गुरुङ भन्छन्, ‘यो अब आफुहरुको अधिकार प्राप्तिको अन्तिम लडाई हो । अधिकार प्राप्त नगरुन्जेलसम्म आन्दोलन रोकिने छैन् । राज्यले जति दमन गरेपनि आफ्नो आन्दोलन अधिकार प्राप्त नगरी सकिनेवाला छैन् ।’ अध्यक्ष गुरुङ यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चित बनेका छन् । हो तिनै अध्यक्ष गुरुङलाई नेपालमा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले पनि साथ दिईरहेका छन् ।

उनले जसरी मधेशवादी दलहरु आफ्नो मागको लागि भारतसमक्ष गुहार गर्दै आईरहेका छन्, त्यसैगरी उनीहरुले पनि नेपालमा आएर
छलफल गर्नुपर्ने धारणा राखेका छन् । फणिन्द्रले सामाजिक सञ्जाल मार्फत अध्यक्ष गुरुङलाई नेपाल भ्रमणको लागि निम्ता दिएका छन् । नेपालमा आएर गोर्खा ल्याण्डको विषयमा छलफल गर्न आफुहरु तयार रहेको भन्दै उनले नेपाल भ्रमणको निम्ता दिएका हुन् । अध्यक्ष नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दार्जीलिङ भारतको आन्तरिक मामिला हो कि नेपालक‍ो ? यस बारे छलफल गर्न तपाईंहरू दिल्ली जाने होइन काठमाडौं आउनुपर्छ । म तपाईंलाई नेपाल भ्रमणमा आउन निमन्त्रणा गर्दछु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org