ताजा समाचार

जन्मदिनमा ज्ञानेन्द्रको सन्देशः ‘हामी कस्तूरी हराएको मृग झैं हराई रहेका छौं’

काठमाडौं, २३ असार । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । आफ्नो ७१ औं जन्मदिनको अवसरमा सार्वजनिक गरेको आफ्नो धारणामा उनले देश संकटमा पर्दा देशवासीले अभुतपूर्व एकता देखाउने गरेको र यसलाई सधै तयार हुनुपर्ने बताएका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेका बेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहेका छौं । हामी कृयाशील ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन ।’

पूर्वराजा ज्ञानेन्द्रले देश जोगियोस् र विखण्डनमा नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर होस् भन्ने आफ्नो मनोकांक्षा रहेको बताए । ‘यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो,’ उनले भनेका छन् ।

जन्मदिनको दिन ज्ञानेन्द्रले सार्वजनिक गर्नुभएको धारणा यस्तो छ :

आरोह, अवरोहको जीवन क्रममा मैले सात दशक पार गरेको छू । यो असारको २३ सौं दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु ।

यो जन्मदिनको उपलक्ष्यमा मलाई शूभेच्छा प्रकट गर्ने, शूभकामना दिने र म प्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदीबहिनी तथा दाजूभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु ।

पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरको चाहना देशभक्ति नै हो । हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्बृद्धिको बाटोमा अघि बढोस् मेरो मुल चाहना र कामना यही नै हो ।

देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सूदृढ राष्टिङय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो । यस्तो भावना आम नेपालीमा र खास गरि राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरुमा रहोस् यही नै मेरो आग्रह हो । 

राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जूट हुनु परेको छ । हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपुर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनु पर्दछ ।

पुर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृग झैं शून्यतामा हराई रहेका छौं । हामी कृयाशिल उर्जा बोकेर बिउंतन अब ढिला गर्नू हूंदैन ।

निराशा बोकेर विदेशिएको उर्जाशिल यूवाशक्तिलाई स्वदेशमै गरि खाने बाटो बनाई दिन उपाय खोज्न पनि हामी नै जागरुक हूनू पर्दछ ।

“नेपाली हामी रहौंला कहां नेपालै नरहे” भन्ने सारभुत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु ।

श्री पशूपतिनाथले हामी सबैमा सूबूद्धि र प्रेरणा दिउन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org