ताजा समाचार

तुलसीपुरका व्यापारी श्रेष्ठको हत्याराबारे सुचना दिनेलाई एक लाख पुरस्कार

दाङ, २३ असार । प्रहरीले तुलसीपुरका व्यवसायी राजनकुमार श्रेष्ठको हत्यामा संलग्नबारे सूचना दिनेलाई १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । श्रेष्ठको हत्यामा संलग्न मुख्य योजनाकारसहित तीन फरार अभियुक्तबारे सुचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो । प्रहरीले एक सूचना जारी गर्दै श्रेष्ठको हत्यामा संलग्न तीन फरारबारे जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

तुलसीपुरस्थित बुटवल बस्त्रालयका सञ्चालक श्रेष्ठको अपहरण पश्चात हत्या भएको थियो। मुख्य योजनाकार शान्तिनगरका टिकाराम घर्ती, उनकी छोरी पूजा र सल्यान झिम्पेका मानवहादुर भण्डारीको तस्बिर सार्वजनिक गर्दै उनीहरुबारे सूचना दिन प्रहरीले सर्वसधारणहरुसँग अपिल गरेको छ।

प्रहरीका अनुसार टिकाराम घर्ती र उनकी छोरी पूजा श्रेष्ठ हत्याकाण्डका योजनाकार हुन्। टिकारामले आफ्नी १७ बर्षिया छोरी पूजालाई प्रयोग गर्दै फोनमार्फत् घरबाट बोलाउन लगाई व्यवसायी श्रेष्ठको अपहरण गरेका थिए। उनीहरुको यो योजना ३ करोड रुपैयाँ फिरौतीका लागि बनेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले बताए।

टिकाराम र पुजाकै योजना अनुसार जेठ २६ गते बेलुका अपहरणमा परेका श्रेष्ठ अपहरण भएको झण्डै तीन सातापछि गत शुक्रवार सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थीत जंगलमा मृत फेला परेका थिए। अपहरण भएको तीन दिनपछि नै अपहरणकारीले श्रेष्ठको हत्या गरिदिएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न ७ मध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ‘मुख्य योजनाकारसहित तीन जना अहिलेसम्म फरार छन्,’एसपी सिंहले भने ‘उनीहरुबारे सूचना दिनेलाई एकलाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ।’ श्रेष्ठको हत्या भैसकेपछि अपहरणकारीहरुले श्रेष्ठको घरमा फोन गरेर तीन लाख फिरौती रकम माग गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org