ताजा समाचार

सांसद र चिकित्सकबीच आरोप प्रत्यारोप, आफूतिर नहेरी अर्कातिर मात्र औला उठाउन मिल्छ ?

काठमाडौं, ८ साउन । “बल्लतल्ल चिकित्सा शिक्षा अध्ययन गरेर लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर भइसकेपछि आफ्नो क्लिनिक खोल्ने अनि क्लिनिक कसरी राम्रो बनाउने र कमाउनेतर्फ लाग्ने ? आफूतिर नहेरी अर्कातिर मात्र औला उठाउन मिल्छ ?”

शनिबार स्वयम्भूस्थित मनमोहन मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चिकित्सकहरूको संस्था ‘फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी’ नेपालले आयोजना गरेको ‘स्वास्थ्यमा लगानीः सामाजिक न्याय र समानता’ विषयक अन्तरक्रिया कार्यक्रममा संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झा. डाक्टरहरूमाथि यसरी खनिइन्।

उनले अरू थपिन्, “सरकारी अस्पताललगायत सरकारी स्वास्थ्य संस्था धराशयी बन्नुमा डाक्टरहरूको ठूलो हात छ। सरकारी मात्र होइन, डाक्टरहरू डिग्री पास गरिसकेपछि जुनसुकै चिकित्सकको ध्यान पैसा कमाउन र क्लिनिक कसरी बनाउने, बिरामी कसरी तान्नेतर्फमा मात्र केन्द्रित रहन्छ। ”

त्यसपछि डाक्टरहरू नै एकआपसमा मुखामुख गर्न थालेका थिए। सायद चिकित्सकहरूले बोल्ने क्रममा राजनीतिक दल तथा ६०१ जना सांसदको उछितो नकाढेको भए झा यसरी चिकित्सकहरूमाथि आक्रोशित भएर खनिनुहुन्न थियो होला। कार्यक्रममा अधिकांश चिकित्सकले ६०१ जना सांसदलगायत नेता तथा राजनीतिज्ञकै कारण देश आर्थिक विकास तथा समृद्धिमा जान नसकेको आरोप लगाए।

चिकित्सकहरूले ६०१ जना सांसदलाई देश बिगारेको, कुनै पनि विषयमा व्यवस्थापन गर्न नसकेको, देश बनाउनभन्दा बिगार्नमा नेताको हात रहेको भन्दै सांसदहरूप्रति आक्रोश व्यक्त गरेपछि सभापति झाले त्यसमा चिकित्सक पनि उत्तिकै दोषी रहेको आरोप लगाइन्। चिकित्सकहरूले स्वास्थ्य क्षेत्र मात्र सुधार गरे राजनीतिक क्षेत्र स्वतः सुधार हुने बताइन्।

सभापति झाले चिकित्सकजस्तो बुद्धिजीवी क्षेत्रबाट राजनीतिक क्षेत्रलाई घृणित रूपमा हेरिनु दुःखद भएको भन्दै सामान्य जनताले राजनीतिलाई हेर्ने दृष्टिकोणसमेत राम्रो नरहेको बताइन्। अरूलाई गाली गर्दा आफ्नो क्षेत्र कस्तो छ भन्नेतर्फ पनि बुझ्नुपर्ने भन्दै सांसद झाले स्वास्थ्य क्षेत्रमा चिकित्सकले केही गर्नुपर्छ भनेर लागे नेपालको स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सकिने बताइन्।

चालीस लाख रुपियाँ खर्च गरेर डाक्टर बनेकैले उक्त रकम उठाउन चिकित्सकले आफ्नो मर्यादा बिर्सेर कमाउनेतर्फ लाग्दा चिकित्सा पेसामा विश्वास हुन छाडेको झाले बताइन्। सबैलाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उनले बताइन्। आजको गोरखापत्र दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org