ताजा समाचार

बागलुङका विभिन्न ठाउँमा भीषण बर्षासँगै पहिरो जाँदा एक जनाको मृत्यु, पाँच जना वेपत्ता

बागलुङ, २० साउन । पहिरोमा परी बागलुङमा एक जनाको ज्यान गएको छ । ढोरपाटन नगरपालिका अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश बिकको ज्यान गएको हो । पहिरोमा परी अन्य पाँच जना वेपत्ता भएका छन् । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गएको पहिरोका कारण जनजिवन अस्तव्यस्त बनिरहेको छ ।

घरमाथिबाट आएको पहिरोले बिकसहित पाँच जनालाई पुरेको थियो । बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरेपनि बिकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् । यस्तै पहिरोले निसीखोला गाउँपालिकाको देविस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पुर्दा चार जना वेपत्ता भएका छन् ।

दुई दिनदेखि परेको अवरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोले निसीखोलाको देविस्थानमा बढी क्षति पुर्याएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । पहिरो प्रभावित क्षेत्रमा प्रहरी पठाइएको बागलुङका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org