ताजा समाचार

खाल्डोमा डुबेर ४ बालिकाको ज्यान गएपछि ठेकेदार पक्राउ, बालिकाको शव सडकमा राखेर प्रदर्शन

रौतहट, २२ साउन । सडक निर्माणका क्रममा खनिएको खाल्डोमा डुबेर चार बालिकाको ज्यान गएपछि सडक बनाउने जिम्मा पाएको ठेकेदार पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिकामा खाल्डोमा डुबेर शनिवार चार बालिकाको ज्यान गएपछि ठेकेदार मध्येका एक प्रल्हाद साहलाई प्रहरीले प्रक्राउ गरिएको हो ।

ठेकेदारले सडक बनाउँदा खाल्डो खनेको र खाल्डो नपुरेकाले जमेको पानीमा डुबेर बालिकाहरुको ज्यान गएको भन्दै मृतकका परिवारजन तथा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । स्थानीयले बालिकाहरुको शव सडकमै राखेर विरोध प्रदर्शन गरेका हुन् । गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो ।

बालिकाहरुको शव पोष्टमार्टम गरेर आइतबार आफन्तले जिम्मा लिएका छन् । शव बुझेलगत्तै पीडित पक्षले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर करिब दुई घण्टा सडक जाम गरेका थिए । एसपी यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा मृतक परिवारलाई किरियाखर्च वाफत १५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलाइएको थियो ।

शनिबार दिउँसो घाँस काटेर फर्किने क्रममा गर्मी भएकाले खाल्डोमा नुहाउँने क्रममा डुबेर गरुडा नगरपालिका–४ स्थित स्थानीय राम एकवाल साहकी दुई छोरी १२ वर्षीया सुनीता साह र ९ वर्षीया संगीता साहको ज्यान गएको थियो। त्यस्तै स्थानीय प्रेम साहकी ९ वर्षीया छोरी सुस्मिता साह र योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साहको ज्यान गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org