ताजा समाचार

सुष्मा स्वराजको स्वागतमा भारतीय दूतावासले आयोजना गर्ने भोजमा केपी ओली सहभागि नहुने

 

काठमाडौं, २७ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको कार्यक्रम बहिस्कार गरेका छन् । स्वराजको स्वागतमा आज लैनचौरस्थित भारतीय दूतावासमा आयोजित कार्यक्रममा सहभागी हुन आएको प्रस्ताव ओलीले अस्वीकार गरेका हुन् । तर ओलीको सचिवालयले यसलाई बहिष्कार नभनि कुटनीतिक भाषामा अर्को ठाउँमा कार्यक्रम तय भएकाले सहभागी हुन नसक्ने भनेको छ ।

भारतीय विदेशमन्त्री स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन बिहिबार काठमाडौं आइपुगेकी थिइन् । उनकै स्वागतमा कार्यक्रमसहित भारतीय दूतावासले आज साँझ ५ बजे भोजको आयोजना गरेको छ । दूतावासको यो कार्यक्रममा ओली सरिक नहुने भएका छन् ।

ओली कार्यक्रममा सहभागी नहुने उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए । दाहालले कुटनीतिक भाषामा भने– ‘भोलि अध्यक्षज्यूको अन्त नै कार्यक्रम तय भएको छ । भोजमा सरिक हुनुहुन्न ।’ अध्यक्ष ओली शुक्रबार मुस्ताङ जाँदैछन् । शुक्रबार पोखरा हुँदै मुस्ताङ जान लागेका ओली तीन दिन उतै विताउने छन् ।

भोजमा सरिक भइदिन अनुरोध गर्दै भारतीय राजदूत मञ्जीव सिंह पुरी एक साता अघि मात्र ओली निवास बालकोट पुगेका थिए । तर, ओलीले टाउको मात्र हल्लाएका थिए । आउने वा नआउने भन्नेबारे जानकारी गराएका थिएनन् । नेपालका प्रधानमन्त्री, कयौं मन्त्री, नेता, पत्रकार, वुद्धिजीविलाई आह्वान गरिएको भोजमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org