ताजा समाचार

गौचनको शव हत्या भएको चार दिनपछि आफन्तले बुझे, बिदाइमा थामिएन आँशु

काठमाडौं, २६ असोज । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको शव परिवारले बुझेका छन् । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको शव आफन्तजनले आज बुझेका हुन् ।

शव बुझेलगत्तै मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखियो । उनको आजै अन्तिम संस्कार गरिने परिवारजनले जनाएका छन् ।

गौचनप्रति प्रधानमन्त्री शेरबहादुर देउवा, बन मन्त्री विक्रम पाण्डेसहित विभिन्न दलका नेता, निर्माण व्यवसायी र शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली दिने क्रममा गौचनका परिवार आफन्त र शुभेच्छुक भावविह्वल अवस्थामा देखिन्थे ।

यसअघि गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।

तर, गृहमन्त्री जनार्दशन शर्माले बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने आश्वासन दिएपछि शब परिवारले बुझेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org