ताजा समाचार

१० रुपैयाँ दिएर १० वर्षीया बालिका बलात्कार गर्ने ८५ वर्षे वृद्ध पक्राउ

गोरखा, २६ असोज । १० रुपैयाँ दिँदै १० वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा ८५ वर्षका वृद्ध पक्राऊ परेका छन् । प्रहरीले गोरखाको भिमसेन गाउँपालिका वडा नम्बर ६ झिंगटेका ८५ वर्षका नूर मोहम्मद मियाँलाई पक्राउ गरेको हो । बुधबार दिउँसो बालिकालाई घर नजिकै बारीमा बोलाएर बलात्कार गरेको जाहेरी आएपछि पक्राउ गरिएको प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले जानकारी दिए ।

बलात्कृत बालिका चिच्याएपछि नजिकै घाँस काट्दै गरेकी स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । वृद्ध मियाँले यसअघि पनि बालिकालाई पटकपटक बलात्कार गर्दै आएको जाहेरीकर्ताले बताएको प्रहरीको भनाई छ । बालिकाकी आमा सुस्तमनस्थितिकी रहेको र बाबु पनि कामका लागि भारतमा रहेका छन् ।

मियाँले १०/२० रुपैयाँ दिएर फकाउँदै बालिकालाई बलात्कार गर्दै आएका थिए । ‘पहिले पनि तीन पटकसम्म घटना भएको पाइयो’, अधिकारीले भने, ‘आमाले बच्चाको स्याहार गर्न नसक्ने रहिछन्, त्यही मौकामा उसले १०/२० रुपैयाँ दिएर पटकपटक त्यसो गर्दै आएको रहेछ ।’ बुधबारको घटना पनि पैसाको लोभ देखाएरै भएको पाइएको एसपी अधिकारीको भनाई छ । बालिकाले २० रुपैयाँ मागेपछि आरोपी मियाँले १० रुपैयाँ दिएर प्रलोभनमा पारेको उनले बताए । प्रहरीले बालिकाको साथबाट १० रुपैयाँ पनि फेला पारेको छ ।

रक्तश्राव भएको अवस्थामा उपचारका लागि सदरमुकाम ल्याइएकी बालिकालाई बलात्कार गरिएको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान थालिएको एसपी अधिकारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org