ताजा समाचार

जग्गा विवादले सहोदर दाजु-भाइको परिवारमा खुकुरी हानाहान हुँदा दुई जनाको मृत्यु


बाजुरा, २८ असोज । एकै परिवारका दाजु–भाइको परिवार भित्रै खुकुरी हानाहान हुँदा दुई जनाको ज्यान गएको छ । खुकुरी हानाहानमा संलग्न अर्का एक जना गम्भीर घाइते छन्। बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानीमा शनिबार बिहान दाजुभार्इको परिवारबीच खुकुरी हानाहान हुँदा दुई जनाको ज्यान गएको हो ।

कालापानीका मोहन गिरी र उनका सहोदर भार्इ गोरख गिरीको परिवारबीच जग्गा विवादको बिषयमा खुकुरी हानाहान हुँदा मोहन गिरीका २७ वर्षीय छोरा नौले गिरी र ३२ वर्षीय छोरा अर्जुन गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । नौलेको घट्नास्थलमै र अर्जुनको उपचारका क्रममा अछामस्थित बयलपाटा अस्पतालका ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश भट्टले जानकारी दिए।

मोहन गिरीका अर्का छोरा २१ वर्षीय नरेश गिरी गम्भीर घाइते छन्। उनको बाजुरास्थित फालासैनमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोहन गिरीलाई पनि सामान्य चोट लागेको छ । मृतक नौले गिरीको शव प्रहरीले गोरख गिरीको घरमा फेला पारेको हो। दुवै परिवारका बीचमा शुक्रबार बिहान ७ बजे खुकरी हानाहान भएको थियो।

प्रहरीका अनुसार घटनास्थलमा खुकुरी, खुडा र जीआई पाइप प्रहार भएको छ। घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले ५० वर्षीय गोरख गिरी, उनका २५ वर्षीय छोरा गणेश गिरी, २० वर्षीय योगेन्द्र गिरी र १६ वर्षीय दिनेश गिरीलाईे नियन्त्रणमा लिएको छ।

तीन जनालाई गाउँमै प्रहरीले नियन्त्रणमा लिएको हो भने गणेश गिरीलाई सदरमुकामबाट प्रहरीले पक्राउ गरेको हो। घटना लगत्तै फरार रहेका गणेशलाई प्रहरीले सदरमुकामबाट पक्राउ गरेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org