ताजा समाचार

समानुपातिक उम्मेदवारको बन्द सूची पेश आज

काठमाडौं, २९ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक प्रणालीबाट निर्वाचित हुने उम्मेदवारहरुको बन्द सूची दलहरुले आज निर्वाचन आयोगमा बुझाउँदैछन् । राजनीतिक दलहरुले बुझाउने बन्द सूचीमा ५० प्रतिशत महिला अनिवार्य गरिएको छ ।

प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० पदका लागि दलहरुले उम्मेदवारहरुको बन्द सूची पेश गर्नुपर्नेछ । दुवै सभामा ३३ प्रतिशत महिला निर्वाचित अनिवार्य भएकाले प्रत्यक्षतर्फ कम महिला निर्वाचित हुने कारण समानुपातिकमा ५० प्रतिशत अनिवार्य गरिएको हो ।

प्रत्यक्ष निर्वाचित भएर आउने महिलाबाहेक अरु सबै समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्नेछ । प्रमुख दलहरुले आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु र दलितलगायत सबै ‘क्लस्टर’बाट महिला उम्मेदवारलाई बढी प्राथमिकता दिएका छन् ।

समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको केन्द्रीय कार्यालयमै बुझाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनले केन्द्र र प्रदेशका लागि अलगअलग स्थानको व्यवस्था गरिएको जानकारी दिए । समानुपातिक निर्वाचनका लागि ८८ दलले आयोगका निर्वाचन चिह्न प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org