ताजा समाचार

१११ प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि ७०२ उम्मेदवारको भिडन्त

काठमाडौं, ९ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७०२ जना उम्मेदवार चुनावमा होमिएका छन् । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने १११ प्रदेश तथा प्रतिनिधिसभा सदस्यको अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै ७०२ जना चुनावी मैदानमा होमिएका हुन् ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी जम्मा १११ सदस्य पदका लागि ७ सय २ जना उम्मेदवार मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ । १११ पदका लागि गत कार्तिक ५ गते ८०३ जनाले उम्मेदवारी दर्ता गरेपनि बुधबारसम्ममा एकसय जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।

७०२ जनालाई नै निर्वाचन आयोगले बुधबार चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाएपछि सम्बन्धित राजनीतिक दल र तिनका उम्मेदवारहरु आ–आफ्ना चुनावी क्षेत्रमा चुनाव जित्ने रणनीति बनाउन व्यस्त छन् ।

बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना गठबन्धनमार्फत चुनावी प्रचारप्रसार गर्ने जनाएका छन् । त्यसका लागि उनीहरुले विभिन्न स्तरका चुनाव परिचालन कमिटि गठन गरेका छन् ।

प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोग अन्तर्गतको सूचना प्रविधि महाशाखाले जनाएको छ । दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org