ताजा समाचार

छठ मनाएर घर पनि पुग्न पाएनन्, एकै परिवारका चार जना भए दैवका प्यारा

सप्तरी, १२ कात्तिक । धादिङको गजुरीमा शनिबार बिहान भएको बस दुर्घटनामा जिल्लाकै २५ जनाको मृत्यु भएपछि सप्तरी शोकमग्न बनेको छ । मिथिला क्षेत्रको महत‍्वपूर्ण पर्व छठ मनाएर फर्किएका आफन्त दुर्घटनामा परेको खबरसँगै सप्तरी आँसुमा डुबेको हो ।

दुर्घटनामा तिलाठी कोइलाडी गाउँपालिका १, तिलाठीका मात्रै एकै परिवारका चार जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता छन् । गाउँमा बिहानैदेखि रुवाबासी छ । पण्डित रमानाथ झाका जेठा छोरा सञ्जित, कान्छा छोरा अञ्जित, सञ्जितकी श्रीमती सिमी, उनका छोरा नौ वर्षीय अभिनवको मृत्यु भएको हो ।

सञ्जितका कान्छा छोरा तीन वर्षीय प्रतीक झा बेपत्ता छन् । परिवारै दुर्घटनामा परेको खबरले ९० वर्षीय रमानाथ र ८० वर्षीया निर्मला बेहोस छन् । निर्मलालाई सलाइन पानी चढाइएको छ । उनीहरूलाई छोरा, बुहारी र नातिहरू घाइते भएको मात्र जानकारी दिइएको छ ।

यसैगरी, सञ्जितका साला राजविराज-१६ का बिटु भनिने अनुज झा र ठूली सासूआमा चन्द्रावती झाको समेत ज्यान गएको छ । सञ्जितकी साली पूजाकुमारी झा अझै बेपत्ता छिन् । सञ्जित नेपाल बैंक लिमिटेड चाबहिल शाखामा सातौं तहमा कार्यरत थिए भने अञ्जित शिक्षण पेसामा आबद्ध थिए ।

यसैगरी, बोदे बर्साइन नगरपालिका-३, मानराजाका शिक्षक चतुरनारायण प्रमाणीका छोरीहरू चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखाको ज्यान गएको छ । काठमाडौंमा अध्ययनरत उनीहरू सप्तरीको विसनपुर चोकबाट बस चढेका थिए । चतुरनारायण काभ्रेमा शिक्षण पेसामा छन् ।

यस्तै, अग्निसाइर कृष्णसबरन गाउँपालिका-४, बनौलीका योगेन्द्र यादवकी श्रीमती सुधिरा र छोरी पाँच वर्षीया समीक्षाको मृत्यु भएको योगेन्द्रका भान्जा विद्यानन्द बेदर्दीले जानकारी दिएका छन् ।

सैनिक मुख्यालयमा इन्जिनियर पदमा कार्यरत राजविराज-१३ का ऋषि आनन्द देव, बोदे बर्साइन-२ का आदित्य यादव, आशिकीकुमारी यादव, समीक्षाकुमारी यादव, बोदे बर्साइन-३ की मानवी यादव, बोदे बर्साइन-२ का सुरेन्द्र चौधरी, पशुपति चौधरी, शम्भुनाथका सुदीप चौधरी, राजविराज-१४ का आदित्य झा, बसका सहचालक राजविराज-१५ का नरेश मुखिया, नेंगडाका पार्वती चौधरी, सुशान्त चौधरी, नर्घो-३ का रामानन्द यादव, महदेवा-९ का प्रमोद इसरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संयुक्त रात्रिबस बुकिङ काउन्टर राजविराजका दिनेश गुप्ताका अनुसार राजविराजबाट १५ जना, बिसनपुरबाट १० जना र लहानबाट सात जना यात्रु बसमा सवार थिए । ३१ सिट क्षमता भएको बसमा ५० जनाभन्दा बढी यात्रु रहेको घाइतेले बताएका छन् ।

बुकिङ काउन्टरबाट ३२ जनाको टिकट काटिए पनि बीच बाटोबाट दुई दर्जनभन्दा बढी यात्रु चढाएको र तीव्र गतिका कारण दुर्घटना भएको घाइते राजविराजका सुरेन्द्र यादवले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org