ताजा समाचार

त्रिशुली बस दुर्घटनामा मृत्यु भएकाहरुको शव सप्तरी पुग्दा गाउँनै शोकमग्न

सप्तरी, १२ कात्तिक । त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाएकाहरुको शव आज सप्तरी पु¥याईएको छ । शनिबार धादिङस्थित त्रिशुली नदीमा बस खस्दा ३१ जनाको शव भेटिएको थियो । अझै २ जना वेपत्ता रहेका छन् । ज्यान गुमाउने ३१ मध्ये २४ जना सप्तरीका बासिन्दा छन् । जिल्लाका २ जना अझै बेपता छन् । मृत्यु भएकाहरुको शव आज सप्तरी ल्याइँदा पुरा क्षेत्र नै शोकाकुल बनेको छ ।

घटनामा परी मृत्यु भएका सप्तरीका २४ जना मध्ये १२ जनाको शव घरमा ल्याईसकिएको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए । अन्यको शव पनि धादिङबाट ल्याउने क्रम जारी रहेको छ । बिहान १० बजे एकै परिवारका चारजनाको मृत्यु भएको र एक बालक बेपता भएको तिलाठीमा शव पुग्दा सिंगो गाउँभर नै रुवावासी चलेको थियो ।

तिलाठीका पण्डित रमानाथ झाका जेठा छोरा ३५ वर्षिय सन्जितकुमार झा, कान्छा छोरा ३० वर्षिय अन्जितकुमार झा, सन्जितकी श्रीमती सिम्मी झा, सन्जितका जेठा छोरा ८ वर्षिय अभिनवको मृत्यु भएको छ । सन्जितका कान्छा छोरा ३ वर्षिय प्रतिक बेपता छन् । सन्जितसँगै राजधानी गईरहेका उनका सालो २० वर्षका बिटु भनिने आदित्य झा, बिटुकी काकी ७५ वर्षिय चन्द्रिका झाको समेत उक्त घटनामा ज्यान गएको छ । यस्तै सन्जितकी साली २३ वर्षीया पुजा बेपता छिन् ।

तिलाठीस्थित स्मारक चोकमा चार शव पुग्दा आफन्त र गाउँलेको भिड शोकाकुल देखिन्थ्यो । आफन्त मध्ये कोही बेहोस भएर ढलेका थिए त कसैका बोली बन्द भएको थियो । धेरैका आँखाबाट आँशुका धारा बोगिरहेको देखिन्थ्यो ।

दुर्घटनामा ज्यान गुमाएका चारैजनालाई अन्तिम संसकारका लागि कोसी ब्यारेज लगिएको वडाध्यक्ष दिनेश्वर मिश्रले बताए । उता तिलाठीकै सन्जितको ससुराली गाउँ राजविराज नगरपालिकाको गोठममा पनि अवस्था उस्तै छ ।

गोठममा उनका सालो र काकी सासुको ज्यान गएको छ भने साली बेपता छिन् । यस्तै रुवावासीको अवस्था छ बोदेवरसाइन नगरपालिकामा । उक्त नगरपालिकाका १० जनाको ज्यान गएको छ । जसमध्ये मानराजाको चतुरनारायण प्रमाणीका चार छोरीको ज्यान गएको छ । यस्तै कृष्णा सवरण गाउँपालिकाकी एक आमा–छोरीको ज्यान गएको छ ।

यस्तै धादिङ दुर्घटनामा जिल्लाका २४ जनाको मृत्यु भएको र २ जना बेपता भएको शोकमा आइतबार जिल्लाका स्थानीय तह र मातहतका सरकारी कार्यालय बन्द छ । यस्तै निजी तथा सरकारी शिक्षण संस्थाहरु समेत शोकमा बन्द गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org