ताजा समाचार

१ नम्बर प्रदेशको चुनावी प्रतिस्पर्धाः वाम गठबन्धन कि लोकतान्त्रिक गठबन्धन ?

काठमाडौं, १४ कात्तिक । यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सरगर्मी बढेको छ । प्रदेश नम्बर एकमा पनि चुनावी चहलपहल बढेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवार विजयी गराउन मतदाता भेटघाट, घरदैलो कार्यक्रम लगायतका प्रचारात्मक कार्यक्रमलाई तिब्रता दिईरहेका छन् ।

पहिलो चरणमा प्रदेश नम्बर एकका ६ जिल्लामा चुनाव हुँदैछ । हिमाली र पहाडी जिल्लामा हुने पहिलो चरणको चुनाव राजनीतिक दलदहरु मत माग्न व्यस्त भइरहँदा चुनावी अड्कल बाजीहरु पनि सुरु भइसकेको छ ।

प्रदेश नम्बर एकमा हुने पहिलो चरणको चुनावमा ताप्लेजुङ्ग, भोजपुर र संखुवासभाको चुनावी सरगर्मी अन्यको भन्दा बढी नै छ । यहाँ केन्द्रीय नेताहरुको उम्मेदवारीले पनि अन्यत्रको समेत ध्यान खिचेको छ । तप्लेजुङ्गमा एमाले सचिब योगेश भट्टराई चुनावी मैदानमा छन् ।

भोजपुरमा एमाले नेता शेरधन राई प्रदेश सभामा लड्दै छन् । शेरधनले उम्मेदवारी घोषणा अघि नै मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गरेका कारण पनि चर्चा र चासोको विषय बनेको छ ।

ओखलढुङ्गामा कांग्रेस नेता रामहरी खतिवडा र एमाले नेता यज्ञराज सुनुवार बिचको भिडन्तले चुनावी प्रतिस्पर्धालाई निकै रोचक बनाईरहेको छ । यो बाहेक संखुवासभामा एमाले नेता राजेन्द्र गौतम र पूर्वमन्त्री दिपक खड्का बिचको चुनावी प्रतिस्पर्धाले पनि जिल्लामा चुनावको रौनक बढेको छ ।

यो बाहेक पाँचथरमा समेत कांग्रेसका प्रभावशाली नेता भिष्मराज आङ्दम्बे चुनावी मैदान छन् । केन्द्रीय नेताहरु नै उम्मेदवार बनेका कारण यी जिल्लामा चुनावी प्रचार समेत तिब्र भएको छ । स्थानीय तहको चुनावको मत परिणामलाई हेर्ने हो भने प्रदेश नम्बर एकमा बाम गठबन्धन अगाडि छ तर स्थानीय तहको चुनावलाई मात्रै हेरर चुनावी विश्लेषण गर्नुको अर्थ भने छैन ।

प्रदेश नम्बर एकमा रहेका एक सय ३८ स्थानीय तह मध्ये एमालले ६९ स्थानमा प्रमुखपद जितेको छ भने कांग्रेस ५१ स्थानीय तहमा विजयी बनेको थियो । गठबन्धनमा रहेको माओवादीले ९ स्थानीय तहको प्रमुख पद जितेको छ । प्रदेश नम्बर एकमा संघीय समाजवादी फोरमले २ स्थानीय तह राप्रपाले तीन र लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा जितेका थिए ।

यो तथ्यांकलाई पनि आधार मानेर हेर्दा वाम गठबन्धन नै बलियो छ । वाम गठबन्धनको स्थानीय तह मतपरिणाम जोड्दा ७९ सिटमा प्रमुख जितेको थियो । कांग्रेस र उ सँग सहकार्य गर्ने राप्रपा र फोरम लोकतान्त्रिक लगायतका दलले ५९ सिटमा विजयी भएका थिए ।

मंसिर १० को पहिलो चरणमा चुनाव हुने जिल्लाः

सोलुखुम्बु:
स्थानीय तहको चुनावमा वाम दलले सोलुखुम्बुमा २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ मत भन्दा बढी छ । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता छन् ।

ओखलढुङ्गाः
स्थानीय तहको चुनावमा ओखलढुङ्गमा वाम गठबन्धनले ३३ हजार ५ सय ३१ मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यो आधारमा यहाँ वाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा ७ हजार ४ सय २६ मत बढी छ । ओखलढुङ्गामा प्रतिनिधिसभा चुनावका लागि वाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका तर्फबाट रामहरि खतिवडाबिच प्रतिस्पर्धा हुँदैछ ।

ओखलढुङ्गमा यी दुवै नेता प्रभावशाली युवा नेताका रुपमा चिनिन्छन् । २०७० को दोश्रो संविधानसभाको चुनावमा एमालेका तर्फबाट ओखलढुङ्गा क्षेत्र नं १ बाट विजयी सांसद यज्ञराज सुनुवार र क्षेत्र नं २ बाट निवार्चित रामहरि खतिवडाबिचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । अहिले ओखलढुङ्गामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने १ लाख २ हजार २ सय ६३ मतदाता रहेका छन् ।

ताप्लेजुङ्गः
स्थानीय तहको चुनावमा वाम गठबन्धनको २४ हजार ९ सय १७ मत आएको थियो भने नेपाली कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो । यस आधारमा यहाँ नेपाली कांग्रेसको भन्दा वाम गठबन्धनको ५ हजार ३ सय ४५ मत बढी छ । ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय ७ मत रहेको थियो । ताप्लेजुङमा वाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा चुनाव लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।

संखुवासभाः
स्थानीय तहको चुनावमा संखुवासभामा वाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ४ सय ६१ मत ल्याएको थियो । यहाँ नेपाली कांग्रेसले भन्दा वाम गठबन्धनले ६ हजार १ सय ६३ बढी मत पाएको छ । संखुवासभामा राप्रपाको १ हजार मत छ भने अन्य दलको नगन्य उपस्थिति छ । प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधिसभा चुनावका लागि एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १ लाख ५ हजार ६१ मतदाता रहेका छन् । संखुवासभामा वाम गठबन्धनबाट एमाले नेता राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् ।

पाँचथरः
स्थानीय तहको चुनावमा यहाँ वाम गठबन्धनले ४० हजार ४ सय १८ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ७ सय ७६ मत पाएको थियो । यहाँ राप्रपाको १५ सय र संघीय समाजवादी फोरमको ११ सय हाराहारी मत छ । पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे चुनावी प्रतिस्पर्धामा छन् । भिष्मराज आङ्दाम्बे कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । पाँचथरमा १ लाख २५ हजार २ सय २२ मतदाता रहेका छन् ।

भोजपुरः
स्थानीय तहको चुनावमा भोजपुरमा वाम गठबन्धनले ३८ हजार ४ सय ५४ मत पाएको थियो भने नेपाली कांग्रेसले २० हजार ५ सय ६१ मत पाएको थियो । कांग्रेसले पाएको मत वाम दलले पाएको मत भन्दा १७ हजार ८ सय ९३ मत कम हो । भोजपुरमा प्रतिनिधिसभा चुनावका लागि वाम गठबन्धनबाट माओवादीका नेता सुदन किराँती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझी प्रतिस्पर्धााम छन् । भोजपुरमा १ लाख १३ हजार ८ सय ९६ मतदाता रहेका छन् ।

खोटाङः
खोटाङमा गएको स्थानीय तहको निर्वाचनमा बाम दलले ३३ हजार ५ सय ३१ मत पाएको थिए । नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहाँ नेपाली कांग्रेसले पाएको मत भन्दा वाम गठबन्धनको पक्षमा ७ हजार ४ सय २६ मत बढी मत छ । प्रतिनिधिसभा चुनावका लागि एक निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख २५ हजार १ सय ७८ मतदाता छन् । यहाँ वाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमयबिच प्रतिस्पर्धा हुँदैछ ।

दोस्रो चरणमा हेभिवेटको भिडन्तः
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रदेश नम्बर एकमा हेभिवेट नेताहरुको भिडन्त हुँदैछ । इलामबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुवास नेम्बाङ, झापाबाट एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्ण सिटौला, सुनसरीबाट कांग्रेसका विजय गच्छदार, एमाले सचिव भीम आचार्यको उम्मेदवारी हुँदैछ । मोरङ्गमा कांग्रेस नेताहरु शेखर कोइराला, महेश आचार्य चुनावी मैदानमा छन् भने लालबाबु पण्डित पनि मोरङ्गबाट लड्दै छन् । यो बाहेक राप्रपाका राजेन्द्र लिङ्देन, राप्रपा प्रजातान्त्रिकका सुनिल बाबु थापा र माओवादी नेता गोपाल किराँती पनि चुनावी मैदानमा भएपछि यहाँको चुनावी सरगर्मी तातेको छ ।

फोरक लोकतान्त्रिकले एक र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेको मोरङ्गमा उपेन्द्र यादबको समेत उम्मेदवारी हुनेछ । सुनसरीमा पनि वाम गठबन्धन र कांग्रेसकै बिचमा प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरीमा वाम गठबन्धनमा माओवादी केन्द्रको खासै मत स्थानीय तहमा आएको छैन । जिल्लाका स्थानीय तह मध्ये एमालेले तीन वटा स्थानीय तहमा विजय हासिल गरेको छ । २ मा स्थानीय तह लोकतान्त्रिक फोरमले जितेको थियो भने एक स्थानीय तह संघीय समाजवादी फोरमले जितेको छ । भने ६ स्थानीय तहमा कांग्रेसले बाजी मारेको छ । धनकुटामा एमालेको प्रभाव राम्रो मानिन्छ त्यहाँका सातवटै स्थानीय तहमा एमालेले बाजी मारेको थियो ।

झापामा वाम गठबन्धन र कांग्रेसका बिचमा प्रतिस्पर्धा देखिन्छ । झापामा ७ वटा स्थानीय तहमा एमालले प्रमुख पद जितेको छ । तीनवटामा राप्रपाले बाजी मार्दा एउटा स्थानीय तह माओवादीले जितेको छ । ५ स्थानीय तह कांग्रेसले जितेको छ । इलाममा ७ स्थानीय तह एमालेले जित्दा कांग्रेसले २ वटामा बाजी मारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org