ताजा समाचार

कानून बनेसँगै जवरजस्ती धर्म परिवर्तन गराउने क्रिस्चियन फन्दामा, प्रलोभनमा पार्न खोज्दा मुद्दा

दाङ, २० कात्तिक । दाङमा जबरजस्ती धर्म परिवर्तन गराईएको भन्दै क्रिस्चियन विरुद्ध उजुरी परेको छ । देउखुरीस्थित लमही नगरपालिमा चौधरी परिवारलाई जबरजस्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाईएको भन्दै उजुरी परेको हो ।

लमही नगरपालिका वडा नम्बर ५ लमहीबजार निवासी मनोज चौधरीले जवरजस्ती धर्म परिवर्तन गर्न लगाउनेहरूलाई कारवाहीको माग गर्दै लमही नगरपालिकामा उजुरी लिएका छन् । हालै सरकारले जवरजस्ती धर्म परिवर्तन गर्ने र गराउनेलाई कारवाहीको दायरमा लिनेगरी कानुन बनाएको थियो ।

नेपालमा विदेशीहरुले खुलेआम धर्म परिवर्तन गराईरहेको व्यापक गुनासोकाबीच सरकारले यस्तो कानून ल्याएको थियो । धर्मान्तरणमा संलग्न पाइएमा पाँच वर्षको कारावास सजाय र पचास हजार रुपैयाँसम्मको जरिवानाको व्यवस्था गरिएको छ । विदेशीहरू धर्मपरिवर्तनमा संलग्न पाइएमा कारावास सजाय भोगेको सात दिनभित्र देशनिकाला गरिने उल्लेख छ ।

स्थानीय मनोज चौधरीको पीडित परिवार र जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा संलग्नहरूलाई नगरपालिकामा राखेर छलफल समेत गरिएको छ । नगरपालिकाको न्याय समितिका संयोजक तथा उपमेयर देवका बेल्वासेले दुवै पक्षलाई छलफलमा राखेको जानकारी दिइन् । ‘छलफल निष्कर्षमा पुग्न सकेको छैन्’, उनले भनिन् ।

घोराही उपमहानगरपालिकाबाट क्रिश्चियनहरूको समूहका नेतृत्वकर्ताहरू छलफलमा झिकाइएको थियो । डोरबहादुर के.सी.को घरमा डेरागरी बस्ने विदेशी महिलाहरूले प्रलोभन देखाएर जबरजस्ती क्रिश्चियन धर्म मान्न दबाव दिएको तथा खुल्न नसकेको बस्तु सेवन गर्न लगाएको निवेदनमा उल्लेख छ ।

धर्मपरिवर्तन गर्न सुरुमा भरिने वप्तिस्मा आवेदन फारम भर्न लगाएको प्रमाण समेत नगरपालिकामा निवेदनसहित पेस गरिएको छ । क्रिश्चियनहरूले नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने गरेका समाचार र आरोपहरू आइरहेका बेला लमही बजारमा साधारण थारु परिवारलाई जबरजस्ती क्रिश्चियन बनाएको घटनाले अन्य धर्म समुदायकाहरूलाई आक्रोशित बनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org