ताजा समाचार

कांग्रेस गढ मानिएको मोरङमा वाम गठबन्धनले कस्तो ल्याउला नजिता ?

मोरङ, २४ कात्तिक । राजनीति र औद्योगिक इतिहास बोकेको मोरङ यतिबेला चुनावमय बनेको छ । देशका शीर्षस्त नेताहरु जन्माएको विराटनगरमा चुनावी चर्चाले देशैभर प्राथमिकता पाईरहेको छ । मोरङमा प्रतिनिधि र प्रदेश सभाको मतदान दोस्रो चरणअन्तर्गत मंसिर २१ गते हुँदैछ । देशभरमै सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

दोस्रो संविधानसभा निर्वाचनमा ९ वटा क्षेत्र रहेको मोरङमा ५ वटा नेपाली कांग्रेस र ३ वटा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको थियो । मोरङको चुनावी मैदानमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

कांग्रेसले मोरङ क्षेत्र नम्बर १ मा जिल्ला सभापति डिगबहादुर लिम्बू, क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ मा सुनिल शर्मा, क्षेत्र नम्बर ४ मा महेश आचार्य, क्षेत्र नम्बर ५ मा अमृत अर्याल र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालालाई चुनावी मैदानमा उतारेको छ । यीमध्ये लिम्बु, आचार्य, अर्याल र कोइराला दोस्रो संविधानसभामा विजयी भएका थिए । कांग्रेस नेता रिजाल मोरङबाट पहिलो पटक निर्वाचनमा भिड्दैछन् । नोबेल मेडिकल कलेजका सञ्चालक शर्मा दुई वर्षअघि मात्रै कांग्रेसमा प्रवेश गरेका हुन् ।

वाम गठबन्धनमा एमालेबाट क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, क्षेत्र नम्बर २ मा ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाल, क्षेत्र नम्बर ४ मा माओवादी (केन्द्र) का अमन मोदी, क्षेत्र नम्बर ५ मा माओवादी (केन्द्र) का शिवकुमार मण्डल र क्षेत्र नम्बर ६ मा एमालेका चर्चित नेता लालबाबु पण्डित उम्मेदवार छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि ६ क्षेत्र रहेको मोरङमा कूल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेका छन् । नेपाली काङ्ग्रेसको आधार क्षेत्र रहेको मोरङमा एमाले र माओवादी केन्द्रले तालमेल गरेर चुनावी मैदानमा होमिएपछि नेपाली काङ्ग्रेसको साइज घट्ने अनुमान गरिएको छ ।

मोरङ क्षेत्र नम्बर १:
मोरङ क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा, नेपाली कांग्रेसका डिकबहादुर लिम्बु र सङ्घीय समाजवादी फोरमका देवेन्द्र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर १ मा १ लाख ७ हजार २ सय ३५ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २७ हजार ६ सय ९७ मत पाएको थियो । यस्तै नेकपा एमालेले २५ हजार ६ सय ४४, माओवादी केन्द्रले ७ हजार ४ सय १९, नयाँ शक्तिले ३७, राप्रपाले ४ सय ९५, फोरम लोकतान्त्रिकले ३८ र सङ्घीय समाजवादी फोरमले ६३ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६३ मत छ । यहाँ नेपाली कांग्रेसले प्राप्त गरेको मतभन्दा ५ हजार ३ सय ६६ हाराहारी मतले वाम गठबन्धन अगाडि रहेको छ ।

मोरङ क्षेत्र नम्बर २ः
मोरङ क्षेत्र नम्बर २ मा १ लाख ११ हजार ३ सय २१ मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका ऋषिकेश पोखरेल, नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल र सङ्घीय समाजवादी फोरमका युवराज कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । गत स्थानीय तहको निर्वाचनमा मोरङ २ मा मोटामोटी रूपमा नेपाली कांग्रेसले २२ हजार ९ सय ८०, नेकपा एमालेले १९ हजार १७, माओवादी केन्द्रले १२ हजार २ सय ८२, नयाँ शक्तिले ४ सय ४९, राप्रपाले २ हजार ७ सय ९, फोरम लोकतान्त्रिकले ७ सय ९१ र सङ्घीय समाजवादी फोरमले ३ हजार ६ सय ५३ मत ल्याएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार २ सय ९९ मत रहेको छ । मेची अञ्चलमा राप्रपाले पनि वाम गठबन्धनलाई सघाउने बताइरहेका बेला वाम गठबन्धनमा राप्रपाको मत जोड्दा ३४ हजार ८ हुन्छ । नेपाली कांग्रेसको मतमा फोरम लोकतान्त्रिकले पाएको मत मिसाउँदा २३ हजार ७ सय ७१ हुन्छ, जुन वाम गठबन्धनको मतभन्दा १० हजार २ सय ३७ कम हो । यस आधारमा हेर्दा मोरङ क्षेत्र नम्बर २ मा वाम गठबन्धनलाई पराजित गर्न नेपाली कांग्रेसलाई कठिन पर्ने देखिन्छ ।

क्षेत्र नम्बर ३ः
क्षेत्र नम्बर ३ मा आगामी निर्वाचनका लागि १ लाख २७ हजार ४ सय ९६ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल, नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र सङ्घीय समाजवादी फोरमका लोक सागर साँवाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । गत स्थानीय तहको निर्वाचनका मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसले २२ हजार ६ मत पाएको थियो भने नेकपा एमालेले २९ हजार १ सय ७३, माओवादी केन्द्रले १३ हजार ४ सय ९८, नयाँ शक्तिले ७ सय १०, राप्रपाले ५ सय ३५, सङ्घीय समाजवादी फोरमले ३५ र फोरम लोकतान्त्रिकले ११ सय २ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ६ सय ७१ मत रहेको छ । जुन नेपाली कांग्रेसले पाएको मतभन्दा २० हजार ६ सय ६५ मत धेरै देखिन्छ । स्थानीय तहमा राजनीतिक दलले पाएको मत प्रतिनिधिसभा निर्वाचनका बेला केही फरक परे पनि यहाँ बाम शक्ति नै बलियो हुने देखिएको छ ।

क्षेत्र नम्बर ४ :
क्षेत्र नम्बर ४ मा ९९ हजार १ सय २४ मतदाता रहेका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली कांग्रेसका महेश आर्चाय र सङ्घीय समाजवादी फोरमका तर्फबाट लोक सागर साँवा चुनावी प्रतिस्पर्धामा रहेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १७ हजार १, नेकपा एमालेले १७ हजार ९ सय ३३, माओवादी केन्द्रले ६ हजार १ सय ३१, राप्रपाले १६ सय ३, फोरम लोकतान्त्रिकले ८ हजार २ सय १ र सङ्घीय समाजवादी फोरमले ४ हजार २ सय २८ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ६४ मत देखिन्छ । यस्तै नेपाली कांग्रेसमा बिलय भएको फोरम लोकतान्त्रिकले पाएको मत कांग्रेसले पाएको मतमा मिसाउँदा २५ हजार २ सय २ हुन्छ । अर्थात् यहाँ नेपाली कांग्रेस ११ सय ३८ मतले अगाडि देखिन्छ । यहाँ राप्रपाले १२ सय ३ मत ल्याएको थियो । लोकतान्त्रिक गठबन्धनमा समेत रहेको राप्रपाको मत नेपाली कांग्रेसलाई जाने हो भने कांग्रेस केही बलियो हुनेछ ।

क्षेत्र नम्बर ५ :
क्षेत्र नम्बर ५ मा ८९ हजार २ सय ८७ मतदाता रहेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल, नेपाली कांग्रेसका तर्फबाट अमृतकुमार अर्याल र सङ्घीय समाजवादी फोरमबाट राजकुमार यादव प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसले १३ हजार ७ सय ३०, नेकपा एमालेले १० हजार ४ सय ९३, माओवादी केन्द्रले १० हजार २ सय २३, नयाँ शक्तिले ६७, राप्रपाले १ हजार ३ सय १७, फोरम लोकतान्त्रिकले २ हजार ४ सय ६५ र सङ्घीय समाजवादी फोरमले १४ हजार १ सय ८ मत पाएको थियो । यस आधारमा हेर्दा यो क्षेत्रमा वाम गठबन्धनको पक्षमा २० हजार ७ सय १६ मत रहेको छ भने नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा १६ हजार १ सय ९५ मत पाएको थियो, जुन वाम गठबन्धनको भन्दा ४ हजार ५ सय २१ मत कम हो ।

क्षेत्र नम्बर ६ः
क्षेत्र नम्बर ६ मा आगामी निर्वाचनका लागि १ लाख १० हजार ३ सय २२ मतदाता रहेका छन् । यहाँ वाम गठबन्धनबाट एमालेका लालबाबु पण्डित र नेपाली काङ्ग्रेसबाट डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डित पूर्व सामान्य प्रशासन मन्त्री हुन् भने कोइराला नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् । गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, राप्रपाले २ हजार ५ सय ९९, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ मत पाएका थिए ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने नेपाली काङ्ग्रेस फोरम लोकतान्त्रिकले पाएको मत हिसाब गर्दा २७ हजार ९ सय ९८ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १७ सय ६२ मतले अगाडि रहेको छ । लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको २५ सय ९९ मत छ । स्थानीय तहमा पाएको मतका आधारमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ ।

विगतको संविधानसभा चुनावलाई केलाउँदाः
दोस्रो संविधानसभामा एमालेका पोखरेल र माओवादीका मण्डल विजयी भएका थिए । पोखरेलले तत्कालीन मोरङको क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार आमोदप्रसाद उपाध्याय, मण्डलले तत्कालीन मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार गयानन्द मण्डललाई झिनो ८ मतले पराजित गरेका थिए ।

वाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार खतिवडालाई दोस्रो संविधानसभामा कांग्रेसका लिम्बूले नै पराजित गरेका थिए । खतिवडा उम्मेदवार बनेको मोरङको तत्कालीन क्षेत्र नम्बर ९ मा माओवादीका वर्षमान पुनले तेस्रो मत ल्याएका थिए । तेह्रथुम घर भएका एमाले नेता ढकाल मोरङको सबैभन्दा ‘सुरक्षित’ क्षेत्र मानिएको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका हुन् ।

मतदाता हिसाबले मोरङमा क्षेत्र नम्बर ३ एमालेको सुरक्षित मानिन्छ । तर, नोबेल मेडिकल कलेजका सञ्चालक (हाल राजीनामा दिएका) शर्माले भने ढकाललाई कडा टक्कर दिइरहेका छन् । शर्माले स्वास्थ्य शिविरमार्फत त्यो क्षेत्रमा प्रचारप्रचार तीव्र पारेको छ ।

मोरङ ४ का माओवादी (केन्द्र) का उम्मेदवार मोदी पहिलोपटक चुनाव लड्दैछन् । दोस्रो संविधानसभामा समानुपातिकबाट साभसद् भएका मोदी संसद् भवनमा तोडफोड हुँदा चर्चामा आएका थिए । थारु मतदाता बाहुल्य मोरङको क्षेत्र नम्बर ४ (पहिलाको क्षेत्र नं. ६) मा पहिलो संविधासभामा मधेसी जनअधिकार फोरमका नेता भीमराज राजवंशीले कांग्रेस नेता आचार्यलाई पराजित गरेको थियो ।

दोस्रो संविधानसभामा कांग्रेस नेता आचार्यले फोरमका भक्ति माझीलाई पराजित गरेको थियो । थारू बाहुल्य क्षेत्र रहेकाले मोदीले आफ्नो जित सुनिश्चत रहेको दाबी गरिरहेका छन् । मोरङ क्षेत्र नम्बर ५ का माओवादी केन्द्रका उम्मेदवार मण्डल दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका गयानन्दलाई ८ मत फरकले जितेका थिए । मोरङको क्षेत्र नम्बर ५ पहिलाको ४ र ५ क्षेत्रलाई गाभेर एउटा बनाइएको छ । पहिलो संविधानसभामा त्यो क्षेत्रबाट फोरमका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए ।

उपनिर्वाचनमा फोरमकै जयराम यादवले जिते । दुवै चुनावमा पराजित कांग्रेसका उम्मेदवार अर्याल भने दोस्रो संविधानसभामा उपेन्द्रलाई हराएका थिए । मोरङ ५ नम्बर क्षेत्रमा माओवादी (केन्द्र) का मण्डल, कांग्रेसका अर्याल र संघीय समाजवादी फोरमका राजकुमार यादवबीच कडा प्रतिस्पर्धा छ ।

मोरङ क्षेत्र नम्बर ६ मा एमालेका नेता पण्डितले कांग्रेसका नेता कोइरालासित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पण्डितले यसपालिको चुनावमा कांग्रेसको किल्ला तोड्ने दाबी गर्दै आएका छन् । मोरङको तत्कालीन क्षेत्र नम्बर ७ रहेको यस क्षेत्रबाट पहिलो संविधानसभामा फोरमका नेता विजयकुमार गच्छदार विजयी भएका थिए ।

उपनिर्वाचनमा कांग्रेसका कोइरालाले फोरमका चुमनारायण तबदारलाई पराजित गरे । संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसका कोइरालाले फोरमका गच्छदारलाई हराएको थियो । यी तीनवटै निर्वाचनमा यस क्षेत्रमा एमालेको मत चौथो थियो ।

गच्छदारको इन्ट्रीले कांग्रेसलाई सहजः

मोरङको राजनीतिमा प्रभाव राख्ने नेता विजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गरेपछि थारु–मधेसी बाहुल्य क्षेत्रमा कांग्रेसको उम्मेदवारलाई ‘सहज’ भएको विश्लेषण भइरहेको छ । मोरङको ५ वटा क्षेत्रमा थारु–मधेसीको मत ‘निर्णायक’ छ । गच्छदारको कांग्रेस प्रवेशले मोरङमा कांग्रेसका उम्मेदवारलाई ‘सजिलो’ भएको तर्क गर्नेहरु पनि छन् ।

स्थानीय निर्वाचनमा एमाले र माओवादी (केन्द्र) ले ल्याएको मत जोड्दा मोरङमा वाम गठबन्धनका उम्मेदवारको स्थिति पनि बलियो देखिन्छ । स्थानीय तहमा खसेको एमाले र माओवादीको मत एकै ठाउँमा जोड्दा मोरङको हरेक क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार कांग्रेसको कडा प्रतिस्पर्धी देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा मोरङको १७ वटा तहमध्ये ९ वटा कांग्रेस, ५ वटा नेकपा एमाले, एक÷एकवटा माओवादी (केन्द्र), संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले जितेको थियो । गच्छदार कांग्रेसमा प्रवेश गरेपछि मोरङको स्थानीय तहमा कांग्रेसको १० वटा र एमाले–माओवादीको गठबन्धनपछि ६ वटा तह जितेको पुग्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org