ताजा समाचार

बारा र संखुवासभामा उम्मेवार लक्षित बम बिष्फोट, विप्लव कार्यकर्तामाथि कडा निगरानी

काठमाडौं, ४ मंसिर । उम्मेदवार लक्षित बम आक्रमण अझै जारी छ । विभिन्न राजनीतिक दलका उम्मेदवार लक्षित गरेर बम आक्रमण गर्ने क्रम अझै रोकिएको छैन् । सरकारले उम्मेदवारको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताईरहेका बेला बम आक्रमणबाट उम्मेदवार बच्न सकेका छैनन् । सोमबार बिहानै बारामा नेपाली कांग्रेसका उम्मेवार लक्षित गरेर प्रेसर कुकर बम बिष्फोट भएको छ ।

बारा क्षेत्र नम्बर ४ (क) का नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार ओमकृष्ण कार्की चढ्ने गाडीमा बिहान बम विस्फोट भएको हो ।बम विष्फोटका कारण बा १४ च ६६३३ नम्बरको गाडिमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालयका सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बम विष्फोट गराउनेको पहिचान नभएको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यस्तै संखुवासभाको चैनपुरमा अज्ञात समूहले गाडीमा आगजनी गरेको छ। आइतबार राती करिब २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोभर गाडीमा आगजनी गरेको हो । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशीष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन ।

आगजनी गर्नेहरुको खोजी भइरहेको इन्सपेक्टर वेदप्रसाद गौतमले बताए । उक्त गाडी वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org