ताजा समाचार

कैलाली-५ मा आरजु, नारदमुनी र दिनेश बीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै

कैलाली, ४ मंसिर । सात नम्बर प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नम्बर निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोजक बन्दै गएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो ।

गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डा आरजु राणा देउवा यस क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव लड्ने भएपछि थप चर्चा बढेको हो । उहाँको उम्मेदवारीका बारेमा पार्टीभित्र र बाहिर उत्तिकै बहस शुरु भएको छ ।

डा. राणाले मनोनयन दर्ता गराएसँगै सोही दिनदेखि नै झन् रोचक बन्दै गएको छ । उहाँले कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गर्ने कार्यलाई तीव्रता दिनुभएको छ र उहाँ आजभोलि हरेक दिन आफ्नो क्षेत्रका विभिन्न स्थानमा सभा तथा घरदैलोमा व्यस्त हुनु भएको छ ।

काँग्रेसको पकड राम्रो मानिएको क्षेत्र नम्बर ५ रोज्नुभएकी डा. राणाले यस क्षेत्रको विकास र समृद्धि आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । त्यसैगरी आफूले जितेमा धनगढी विमानस्थलको स्तरोन्नति तथा नेपाल–भारत सीमा नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले पहल गर्ने उल्लेख गर्नुभएको छ ।

डा. राणाको मुख्य प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट जनजाति समुदायका नारदमुनि राना र विवेकशील साझाका तर्फबाट उम्मेदवारी दिएका कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी दिनेशराज भण्डारी हुनुहुन्छ । वाम गठबन्धनबाट साझा उम्मेदवारी रहनुभएका नारदमुनि रानाले रानाथारू समुदायका मत तान्ने अपेक्षा गरिएको छ । रानाथारूको बाक्लो बसोबास भएको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता रहेका छन् । रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपप्रमुखमा चुनाव जित्नुभएको थियो ।

रानाले लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । उहाँले धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्नेतिर छुट्टै योजना रहेको बताउँदै आउनुभएको छ ।

त्यसैगरी विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिनेशराज भण्डारी यस क्षेत्रका स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उहाँको छवि पनि राम्रो बनेको छ । स्थानीय निर्वाचनमा यस क्षेत्रमा उपमहानगरपालिकाको स्वतन्त्र प्रमुख पदका उम्मेदवार व्यवसायी गोपाल हमालले राम्रो मत पाएकाले भण्डारीको पक्षमा पनि राम्रो मत पाउने धेरैको मत छ ।

हमाल हाल विवेकशील साझा पार्टीका ७ नम्बर प्रदेशका संयोजक हुनुहुन्छ । विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्नुहुन्छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org