ताजा समाचार

राजपाको घोषणापत्रमा सीके राउतको बोली, ‘नेपालभित्र सधैं मधेस रहनुपर्ने बाध्यता छैन’

काठमाडौं, ७ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) विवादास्पद घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रको प्रस्तावनामा नै ‘नेपालभित्र सधै मधेस रहनुपर्ने बाध्यता नहुने’ उल्लेख गरेको छ।

महोत्तरीको जलेश्वरमा आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीले नेपाल ‘बहुराष्ट्रिय देश’ भएको समेत उल्लेख गरेको छ। एक राज्य एक राष्ट्र हुनुपर्ने धारणा आदर्शवादी भए पनि सधै व्यावहारिक नहुने राजपाको धारणा छ। राज्यले राजनीतिक संरचनाको संकेत गर्ने र राष्ट्रले भौगोलिक, जातीय, भाषिक एवं अन्य सांस्कृतिक समानता भएका समुदायहरुलाई बुझाउने गरेको घोषणापत्रमा उल्लेख छ।

राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ, ‘नेपाल एक बहुभाषिक, बहजातीय, बहुधार्मीक, बहुसांस्कृतिक र बहुराष्ट्रय देश रहेको छ।’ नेपालको दक्षिणतिरको समथर भूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाली भए पनि ती सामूहिक रुपमा आफैमा एक राष्ट्र पनि भएको घोषणापत्रमा उल्लेख छ।

सो समुदायको भूगोल, समान जीवनपद्धति, संस्कृति, सभ्यता एवं मनोविज्ञान भारत, मौरिसस र अन्य देशका समुदायसँग मेल खान सक्ने घोषणापत्रमा उल्लेख छ। यसअघि मधेस अभियान्ताका रुपमा सिके राउतले तराई(मधेसको भूभागलाई छुट्टै राष्ट्र घोषणा गर्नुपर्ने बताउँदै आएका थिए। उनको अभिव्यक्तिसँग मिल्ने गरी राजपाले आफ्नो धारणा घोषणापत्रमा समेटेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org