ताजा समाचार

क्षेत्र नं ९ मा कडा प्रतिस्पर्धा

काठमाडौँ, ११ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लोकतान्त्रिक गठबन्धन र वामगठबन्धनको कडा प्रतिस्प्रर्धा देखिएको छ । उक्त क्षेत्रको अधिकांश स्थानमा दुबै गठबन्धनबाट दिनहुँहुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयवासीको संख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ ।

राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा समेत निकै चासोपूर्वक हेरिएको छ । नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा दुबै नेवार उम्मेदवारमा कसले बढी मत लिनसक्छ, उसले नै विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न उहाँहरुबीच प्रतिस्पर्धा चलेको छ ।

काठमाडौँ महानगरपालिका केही भाग तथा चन्द्रगिरी र नागार्जुन नगरपालिका पनि केही वडा समेत जोडिएको यस क्षेत्रमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका ध्यानगोविन्द रञ्जित र वामगठबन्धनबाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ मुख्य प्रतिस्पर्धी देखिनुभएको छ । उक्त चुनाव क्षेत्रमा महानगरपालिकाका वडा क्रमशः १२, १४, २१ र २२, चन्द्रगिरी नगरपालिकाका क्रमशः १, १२, १३, १४ र १५ वडा र नागार्जुन नगरपालिका ६, ७, ८, ९ र १० वडा परेको छ । त्यसमा एकजना प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशबाट दुई सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तहमा नेपाली काँग्रेसले सात वडा र एमालेले सात वडामा अध्यक्ष पद जितेका छन् । त्यस आधारमा प्रतिस्पर्धा कडा देखिएको छ । जनसंख्याका आधारमा काँग्रेस भन्दा एमाले केही मतले अगाडि देखिएको र माओवादी केन्द्रको सहयोगमा निर्माण भएको वामगठबन्धन अझै बलियो देखिएका छन् । स्थानीय तहमा बामपन्थीले लिएको अग्रताका आधारमा उनीहरु उत्साहित देखिएका हुन् ।

इतिहासका विभिन्न कालखण्डमा नेताद्धय रञ्जित र श्रेष्ठले जनतालाई विश्वासमा लिएर एक अर्कालाई चुनावमा पराजित गरेको अनुभव छ । विसं २०४८ मा सो क्षेत्र तत्कालीन क्षेत्र न ५ मा परेका बेला जनताको बहुदलीय जनवादका प्रणेता नेता मदन भण्डारीले चुनाव जितेको उक्त स्थानमा उपनिर्वाचन हुँदा एमाले नेता श्रेष्ठले जित्नुभएको थियो ।

विसं २०५१ मा भएको आम चुनावमा श्रेष्ठले काँग्रेसका रञ्जितलाई र २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा रञ्जितले श्रेष्ठलाई पराजित गर्नुभएको थियो । प्रतिनिधिसभाका उम्मेदवारद्वय रञ्जित र श्रेष्ठ दुबैले जनताको दुःख सुखलाई नजिकबाट अनुभव गरी सद्भाव साटन पाएकाले सेवाको अवसर आफूलाई दिने जिकिर गर्नुभएको छ ।

यही मंसिर २१ गते हुने प्रदेशसभाका उम्मेदवारमा वाम गठबन्धनबाट प्रदेश १० मा नेकपा एमालेका डा अजयक्रान्ति शाक्य र प्रदेश २० मा नेकपा माओवादी केन्द्रका केशवप्रसाद पोखरेल हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट दुबै प्रदेशमा नेपाली काँग्रेसका १० का उम्मेदवार इन्द्रमान तुलाधर र २० का धर्मराज गौतम हुनुहुन्छ । स्थानीय तहमा महानगरका चारै वडामा एमालेले ठूलो मतअन्तरले काँग्रेसलाई जितेका कारण वाम गठबन्धनले सजिलै जित्नसक्ने प्रदेश १० मा नेकपा एमालेका डा शाक्यले बताउनुभयो ।

प्रदेश २० मा नेकपा माओवादी केन्द्रका पोखरेलले स्थानीय विकास तथा पूर्वाधार निर्माणका साथै सीतापाइला रामकोट भीमढुंगा हुँदै धार्के सडक खण्ड पूरा गर्न वामगठबन्धनले प्राथमिकतामा राखेकाले पनि जित निश्चित रहेको बताउनुभयो । त्यस क्षेत्रको स्थानीय विकास कार्यमा स्थानीय सहभागिता बढाउने योजना र दृष्टिकोण काँग्रेससँग रहेकाले जित्ने आधार रहेको प्रदेश १० का उम्मेदवार तुलाधरले बताउनुभयो ।

प्रदेश २० का उम्मेदवार गौतमले मुलुकमा लोकतन्त्रको रक्षाका लागि काँग्रेसले गरेको त्याग र नेतृत्वका कारण निर्वाचनमा आफूलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश १ बाट ३५ हजार २४५ र प्रदेश २ बाट ३२ हजार ३४८ गरी ६७ हजार ५९३ मतदाता छन् । विवेकशील पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मिलन पाण्डे, प्रदेशसभा १ मा चक्र न्यौपाने र २ मा सुरेन्द्रबहादुर रानाभाट उम्मेदवार हुनुहुन्छ । उहाँहरुले प्राप्त गर्ने केही मतले दुबै गठबन्धनलाई सामान्य प्रभाव पारेपनि खासै ठूलो अर्थ राख्ने देखिदैन । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org