ताजा समाचार

प्रधानमन्त्री छाड्नुअघि देउवाले एआइजी चन्दलाई आइजीपी नियुक्ति गर्ने

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पद छाड्नु अघि एआइजी जयबहादुर चन्दलाई आइजी बनाउने तयारी थालेका छन् । बारम्बार पदबाट राजीनामाका लागि दबाब दिएपनि प्रहरी महानिरिक्षक (आइजी) प्रकाश अर्यालले अटेर गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सुरक्षा परिषद्मा तान्ने अन्तिम तयारी गरेका हुन् ।

चुनाव सकिनासाथ मन्त्रीपरिषद्को बैठक राखी अर्याललाई सुरक्षा परिषद्मा तानेर एआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक (आइजी) मा नियुक्त गर्ने तयारी देउवाले थालेका हुन् । अदालतको मानाहानी गरेको अभियोगमा बर्खास्त गरी चन्दलाई आइजी नियुक्तिको बाटो माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ गरेर बन्द गरेपछि देउवाले अर्को स्टेप चाल्न लागेका हुन् । आफू प्रधानमन्त्रीबाट हट्नुअघि चन्दको भाग्य खुलाएर विदा लिने तयारी देउवाले गरेका हुन् ।

चुनावलगत्तै राजीनामा दिएर सुरक्षित बाटो अपनाउनका लागि प्रधानमन्त्रीले आइजी अर्याललाई सुझाव दिएका छन् । चन्दलाई आइजी नियुक्ति गरेपछि अदालतमा परेको रिटका आधारमा नियुक्ति बद्दर भएको थियो । नियुक्ति विवादकाबीच नवराज सिलवालको दाबीलाई दबाउँदै अर्यालले आइजी पद पाएका थिए । सोही निर्णय गराउनका लागि देउवाले गृहमन्त्रालयको जिम्मेबारी पनि आफैंले लिएका छन् । चुनावी सुरक्षालाई मध्यनजर गरी अहिले नै उनले आइजी नहटाएका हुन् ।

राजनीतिक दबाबमा पर्दै आएका आईजी अर्याल र एआईजी चन्दको हाल बोलचालीनै बन्द भएको छ । एक महिना अगाडी सचिवालयमा भएको एक बैठकमा आईजी अर्यालले एआईजीहरूको सात्तो खाँदै आफ्नो मोबाईल नै फुटाएका थिए । ‘प्रहरीको इन्स्पेक्टर पनि आइजी परिवर्तन गर्छु भन्दै हिँडेका छन् रे त्यस्तालाई कारबाही गर्छु’ भन्दै एआइजीको बैठकमा चन्दप्रति लक्षित गरेका अर्यालले सोही झोंकमा मोबाइल फुटाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org