ताजा समाचार

चितवनमा ८३ जना एचआइभी संक्रमित

चितवन, १५ मंसिर । सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् । परिक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआइभी परीक्षण गराएका हुन् ।

समुदायमा गरिएका कार्यक्रममा एक हजार १५० जनाले एचआइभी परीक्षण गराएको उहाँले बताउनुभयो । सन् २०१६ मा जिल्लामा १५ हजार २२८ जनाले एचआइभी परीक्षण गराएका थिए भने ६९ जनामा संक्रमण भेटिएको सापकोटाले बताउनुभयो । भरतपुर अस्पतालका एआरटी सेन्टरका डा उन्नत श्रेष्ठका अनुसार एचआइभी भएको शंका लाग्ने बित्तिकै अस्पताल आउनेको संख्या बढेको छ । संक्रमित पनि खुलेर आउन थालेका छन् ।

अहिले भरतपुर अस्पतालमा एआरटी सेवा लिने संक्रमित ७६४ जना रहेका छन् । सो सेवा लिनेमा पुरुष ३३६, महिला ३६३ र ६५ बालबालिका रहेका छन् । एक सय ३५ जना नयाँ संक्रमितले औषधि सेवन गर्न थालेका छन् । भरतपुर अस्पतालमा सम्पर्कमा रहेकामध्ये पछिल्लो एक वर्षमा ११ पुरुष र छ महिलाको मृत्यु भएको छ । यसैबीच चितवनमा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ नाराका साथ ३०औँ विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाइदै छ । भरतपुर अस्पताल, एएचएफ नेपालको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको सहयोगमा विश्व एड्स दिवस सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org