ताजा समाचार

निर्वाचन सामग्री कपिलवस्तुमा गाउँ–गाउँ जाँदै

कपिलवस्तु, १८ मंसिर । मंसिर २१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कपिलवस्तुमा आजदेखि धमाधम गाउँ–गाउँ पठाउन थालिएको छ । सदरमुकाम तौलिहवादेखि लामो दूरीमा रहेको र दुर्गम मानिने मतदानस्थलमा निर्वाचन सामग्री सुरक्षा घेरामा राखेर लैजाने काम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो । सदरमुकाम तौलिहवाबाट सबैभन्दा टाढा दक्षिण–पश्चिममा विजयनगर गाउँपालिकाको मतदानस्थल पर्छ ।

त्यस्तै शुद्धोद्धन गाउँपालिका, कृष्णनगर नगरपालिका लगायतका स्थानमा निर्वाचन सामग्री पठाइएको छ । निर्वाचन अधिकारी घिमिरेले मतपेटिका, मतपत्र, परिचयपत्र, स्वस्तिक छाप लगायतका विभिन्न ६४ प्रकारका निर्वाचन सामग्री गाउँ–गाउँ पठाइएको उल्लेख गर्दै परिचयपत्र वितरणको काम मंगलबारदेखि नै शुरु गरिने बताउनुभयो । ६ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता रहेका छन । तीमध्ये पुरुष एक लाख ६९ हजार ४६४ र महिला एक लाख ४२ हजार २९४ छन भने तेस्रोलिङ्गी दुईजना रहेका छन ।

यसमध्ये २५ हजार २१२ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान केन्द्र ४१० र मतदानस्थल २३३ रहेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा कूल ९६ वडा छन् ।

आज रातिबाट नाका बन्द हुँदै

कपिलवस्तुमा व्यावसायिक दृष्टिकोणले चालु अवस्थामा रहेका तीन नाका आज राति १२ बजेदेखि बन्द हुने भएका छन् । नेपाल–भारत सीमाको कृष्णनगर नाका, मर्यादपुर खुनुवा नाका र चाकरचौडा नाका बन्द हुन लागेको कपिवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो । नाका बन्द भएपछि सामान्य आवतजावत भए पनि सवारीसाधन जाँच गरेर निगरानीमा मात्रै सञ्चालन हुनेछन् । निर्वाचनलाई लक्षित गरेर बन्द हुन लागेको नाका २१ गते निर्वाचन सम्पन्न भएपछि मात्रै सञ्चालनमा आउने प्रजिअ भुजेलले जानकारी दिनुभयो । “निर्वाचनमा आपराधिक गतिविधि नहुन भनेर नाका बन्द गरेका हौँ”, उहाँले भन्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org