ताजा समाचार

शिवपुजनको उम्मेदवारी खारेज सम्बन्धमा छलफल गर्न सर्वोच्चले निर्वाचन आयोगलाई बोलायो

काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको सम्बन्धमा छलफलका लागि निर्वाचन आयोगलाई बोलाएको छ । वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधबार अन्तरिम छलफलका लागि आयोगलाई बोलाएको हो। बिहीबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन हुँदैछ।

बुधबार दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । अन्तरिम छलफलका लागि पक्षहरुलाई सूचना दिने प्रक्रिया पनि अदालतले मंगलबार नै सुरु गरेको छ।

यादवले उम्मेदवारी खारेज बदरको माग गर्दै मंसिर १२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवमाथि कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी थियो।

लामो समयसम्म उजुरीमा मौनत साँधेको निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको १० दिनअघि उम्मेदवारी खारेज गरेको हो। दोस्रो चरणको निर्वाचनमा भाग लिन उम्मेदवार बनेका तनहुँका गोविन्दराज जोशी र यादवको उजुरीको प्रकृति एकै थियो। जोशीको उम्मेदवारी तत्काल रद्द भए पनि यादवको लामो समयपछि निर्णय भएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org