ताजा समाचार

फोहोर व्यवस्थापन गर्न जग्गा अभाव

म्याग्दी, २६ मंसिर । सदरमुकाम बेनी बजारको फोहोर व्यवस्थापन गर्ने ‘ल्यान्डफिल साइट’ निर्माण गर्ने वषौंदेखिको प्रयास सफल भएको छैन् । जग्गाको पहिचान गर्ने कार्यले सार्थकता नपाउँदा कालीगण्डकी नदीमा फोहोर फाल्ने काम भइरहेको छ । करिब एक हजार घरधुरीको बसोवास रहेको बेनी बजारको फोहोर बेनी गलेश्वर सडकको रातो पहिरोस्थित कालीगण्डकी नदी किनारमा फालिँदै आएको छ ।

फोहोरका कारण कालीगण्डकी नदी प्रदूषित बन्नुका साथै वरपरका बस्तीका बासिन्दा र आवतजावत गर्ने यात्रु दुर्गन्धका कारण प्रभावित भएका जलेश्वरका ईन्द्र बरुवालले बताउनुभयो । बगरफाँट, जलेश्वर, कालीपुल र गलेश्वरका बासिन्दा नगरपालिकाले फालेको फोहोरको दुर्गन्धका कारण प्रभावित भएका छन् । केही दिनदेखि फोहोर फालिएको ठाउँमा आगो लगाइएपछि फैलिएको दूषित धुवाँ र दुर्गन्धका कारण वरपरका बासिन्दालाई सकस भएको बगरफाँटका हीरा बरुवालले बताउनुभयो ।

करिब १५ हजार नागरिकको बसोवास रहेको बेनीमा दैनिक तीन ट्याक्टरका दरले संकलन हुने फोहोर विसं २०६० देखि रातो पहिरोमा लगेर विसर्जन गरिँदै आएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले तीनजना कर्मचारी परिचालन गरेको छ । सोबापत प्रतिघर मासिक रु ५० देखि रु २०० शुल्क उठाउने गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले ल्यान्डफिल साइट निर्माणका लागि ठाउँको खोजी गरे पनि पाउन नसक्दा सो स्थानमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “एक दशकदेखि जग्गा खोजी गरिरहेका छौँ” उहाँले भन्नुभयोे । ल्यान्डफिल साइट निर्माणका लागि गत वर्ष नगरपालिकाले विनियोजन गरेको रु ६० लाख ठाउँ अभावमा खर्च हुन सकेको छैन ।

बेनपा– १ मा पर्ने ठूलोरानी वन क्षेत्रमा ल्यान्डफिल साइट बनाउन प्रस्ताव गरिए पनि स्थानीय बासिन्दाले विरोध गरेपछि कार्यान्वयन हुन सकेको छैन । कुहिने फोहोर व्यवस्थापनका लागि दुई रोपनी क्षेत्रफल भएको ठाउँ खोजी भइरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । अहिले फोहोर फालिँदै आएको ठाउँमा टहरा निर्माण गरी नकुहिने फोहोर संकलन गरी बेच्ने नगरपालिकाको योजना छ । टहरा बनाउन प्राविधिक सर्वेक्षण भइसकेको छ । कुहिने फोहोरलाई पनि मलको रुपमा बिक्री गर्ने नगरपालिकाको योजना छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org