ताजा समाचार

भोजपुर मुक्तिको सम्झना गर्दै मनाइयो मुक्ति दिवस

काठमाडौँ, २६ मंसिर । रामप्रसाद राई स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार यहाँ ६७औँ मुक्ति दिवस मनाइयो ।प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नेतृत्वमा २००७ साल मंसिर २४ गते बिनारक्तपात पूर्वी पहाडको भोजपुर कब्जा गरेर राणा शासकलाई धक्का दिएको स्मरणमा प्रतिष्ठानले बर्षेनी मुक्ति दिवस मनाउँदै आएको छ । राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता एवं साहित्यकार प्रदीप नेपालले सात सालको क्रान्तिमा रामप्रसादले पु¥याएको योगदान उजागर गर्न जरुरी रहेको बताउनुभयो ।

विगतमा नारदमुनि थुलुङलाई राजनीतिक र रामप्रसादलाई फौजी कमाण्डर भनेर आफूले चिनेको उल्लेख गर्दै नेता नेपालले तर रामप्रसाद मुलुकलाई मार्गदर्शन दिनसक्ने नेता रहेको आफूले पाएको सुनाउनुभयो । “रामप्रसाद राईले काँग्रेसको वैरगनिया सम्मेलनदेखि नै भारतीय विस्तारवादको विरोध गरेको देखिन्छ” उहाँले भन्नुभयो, “जवाहरलाल नेहरुले काँग्रेसको अगुवाइमा सबै क्रान्तिमा लाग्नुपर्ने फर्मान जारी गरेपछि रामप्रसाद त्यसविरुद्ध उभिएका रहेछन् ।”

इतिहासविद् प्रा डा. गोविन्दमान सिंह कार्कीले मुक्ति दिवसबारे धेरैलाई जानकारी नभएको उल्लेख गर्दै यो दिन राष्ट्रिय महत्वको रहेको सुनाउनुभयो । “क्रान्तिमा कब्जा गरेका क्षेत्र राणाले फर्काएपछि निराशा व्यक्त भइरहेका बेला भोजपुर कब्जा भएको थियो” उहाँले भन्नुभयो, “भोजपुर कब्जा नगरेको भए त्यति चाँडै राणा शासन फालिन्नथ्यो । जहानियाँ राणा शासन ढाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ ।”

क्रान्तिमा रामप्रसादको योगदान र मुक्ति दिवसको औचित्यबारे टंकबहादुर राई, जय छाङ्छा, प्रतिष्ठानका अध्यक्ष तारादेवी राईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा चन्द्र रानाहँछा, वेदनाथ ढकाल, बिन्दु ढकाल, दीपक थापालगायतले कविता सुनाएका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org