ताजा समाचार

प्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ क्षेत्रको मतगणना सम्पन्न, कसले कति सिट जिते ?

काठमाडौं, २७ मंसिर । मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ र प्रदेशसभा सदस्यतर्फ ३२९ प्रतिनिधि निर्वाचित भएका छन्।

अब प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एकरएक निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १६५ र प्रदेशसभा सदस्य ३३० का लागि निर्वाचन भएको थियो।

हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एमालेका ८०, माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २२, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि निर्वाचित भएका छन्।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालका एक, नेपाल मजदुर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन्।

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ। आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार एमालेले १७ लाख ७९ हजार ६२८ मत, काँग्रेसले १६ लाख ९५ हजार ९८६, माओवादी केन्द्रले सात लाख दुई हजार ५६०, संघीय समाजवादी फोरम नेपालले दुई लाख १५ हजार ९५७ र राजपाले एक लाख ५२ हजार ६०२ मत प्राप्त गरेको छ। रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org