ताजा समाचार

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु, दमकलसमेत जल्यो

वीरगञ्ज, ५ पुस । वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । बिहान ६ बजेदेखि आगलागी भएपनि यो नियन्त्रणमा आएको छैन । आगो निभाउन गएको दमकल आफैं आगोको चपेटामा परी जलेको छ ।

आगलागीमा परी २ जनाको ज्यान गएको छ । उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । दमकल जल्दा यसका फायर म्यान सविन नेपाल घाइते भएका छन् । उनलार्इ उपचारका लागि गण्डक अस्पतालमा लगिएको छ । दमकलमा रहेका हवलदार मधुसुदन मिश्र र फायरम्यान यादवप्रसाद अधिकारी भने सम्पर्कविहीन छन् ।

आगलागी नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा २(३ सय मिटर परै छन् ।

ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो नियन्त्रणमा लिन सकिएको छैन । आगलागीको कारण खुलेको छैन ।

नजिकको बस्ती सारिँदैः
आगालागी फैलने जोखिम बढेपछि ग्यास उद्योगनजिक रहेको इटिहाई बस्ती खाली गराइँदै छ । यो बस्ती आगलागी भएको उद्योगभन्दा करिब ५ सय मिटरको दूरीमा छ । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरीले जनाएको छ । ग्यास उद्योगनजिक अन्य उद्योगहरु पनि छन् । ती उद्योगहरुमा पनि आगलागी फैलने खतरा बढेपछि सतर्कता अपनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org