ताजा समाचार

प्रदेश २ मा बन्ने मधेश सरकारको पहिलो बैठकबाटै मधेशी सहिदलाई ५० लाख !

काठमाडौं, ५ पुस । प्रदेश २ मा बन्ने सरकारको पहिलो क्याबिनेट बैठकबाटै मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाख दिने दाबी गरिएको छ । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालको बन्ने मधेश सरकारको पहिलो क्याबिनेट बैठकले मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाख दिने दाबी गरिएको हुन् ।

राजपा र फोरम दुबै दलका विधायकहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरे बमोजिम मधेश आन्दोलनका सहिद परिवारलाई ५० लाखका दरले रकम दिइने दाबी गरेका हुन् । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष एवं दुई नम्बर प्रदेशका मुख्य मन्त्रीका दाबेदारका लालबाबु राउतले भने, ‘मधेश–थरुहट आन्दोलनका शहीदलाई पैसाले तौल्नु हुँदैन । हामी पैसामात्र होइन अन्य धेरै सम्मान गर्छौं ।’

यता राजपाका सचिव एवं दुई नम्बर प्रदेशका विधायक उपेन्द्र महतोले मधेश सरकार बनेको खण्डमा पहिलो क्याविनेट बैठकबाटै शहीद परिवारलाई ५० लाख दिने निर्णय आउने बताए । उनले भने, ‘हाम्रो सरकार बने पहिलो क्याविनेट बैठकबाटै मधेश आन्दोलनका शहीदहरुको सम्मान हुन्छ। सबै शहीद परिवारलाई ५० लाख दिइनेछ ।’

राजपाबाट महतो पनि मुख्य मन्त्रीका दाबेदार मानिएका छन्। यता राजपाका अर्का सचिव सुरेश मण्डलले पनि मधेश आन्दोलनका शहीदहरुलाई मधेश सरकार बन्ने बित्तिकै ५० लाख दिइने बताए । शहीद परिवारलाई दिइने पैसा कहाँबाट आउँछ भन्ने प्रश्नमा मण्डलले भने, ‘मधेश सरकारसँग किन पैसा हुँदैन ? शहीद परिवारलाई दिन मधेश सरकारसँग त्यति पनि पैसा हुँदैन र ?’ तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले २०७२ भदौ २ गते प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो मधेश आन्दोलनमा मारिनेहरुलाई ५० लाख दिने घोषणा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org