ताजा समाचार

भक्तपुरमा १ वर्षमा ७ जनाको हत्या, ११ महिला बलात्कृत

भक्तपुर, ७ पुस । भक्तपुरमा एक वर्षमा १५१ मानवाधिकार हननका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८’ का लागि संकलित घटना विवरण आज सार्वजनिक गर्दै जिल्लामा विगत वर्षका तुलनामा यस वर्ष मानवाधिकार हननका घटनामा कमी नआएको जनाएको छ ।

घटना सार्वजनिक गर्दै इन्सेक भक्तपुर प्रतिनिधि सविना केसीले जिल्लामा सन् २०१८ मा गैरराज्य पक्षबाट सात जनाको हत्या भएको तथा बलात्कारको घटनामा तीन बालिका र आठ महिला तथा बलात्कार प्रयास घटनामा चार महिला र एक बालिका एवं बहुविवाह घटनामा चार र घरेलु हिंसाबाट १२४ महिला पीडित भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा भएका घटना हेर्दा सन्तुष्ट हुने ठाउँ नरहेको बताउँदै घटनारहित समाज निर्माणमा प्रशासन, प्रहरी र सञ्चारकर्मी र नागरिक समाज सबैको सहयोग र सहकार्य जरुरी छ भन्नुभयो । जिल्लामा घरेलु हिंसा डरलाग्दो चुनौतीका रुपमा रहेको बताउँदै उहाँले यस्ता घटनाले आत्महत्यासमेत बढेकाले न्यूनीकरण गर्न कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले शान्त र सुरक्षित भक्तपुर प्रयास भएको बताउँदै विगतको तुलनामा जिल्लामा अपराधका घटनामा केही कमी हुँदै गएको जिकिर गर्नुुभयो । सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानवाधिकार उलंघनका घटना न्यूनीकरण गर्न स्थानीय निकायले सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

मानवअधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले गत वर्ष छ जनाको हत्या, १२ जनाको बलात्कार, छ जनाको बलात्कार प्रयास, पाँच जनाको बहुविवाह, एक जनाको मानव बेचबिखन र २०९ जनामा घरेलु हिंसा भएको बताउँदै मानवाधिकार उल्लंघनको घटना गत वर्षभन्दा यस वर्ष प्रभावकारी रुपमा घटाउन नसकिएको स्वीकार्नुभयो । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org