ताजा समाचार

नयाँ सरकार नबन्दै ओलीको निर्देशन मान्न थालेको भन्दै मन्त्रीहरु मुख्य सचिबमाथि जाईलागेपछि…

काठमाडौं, १३ पुस । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु र मुख्य सचिवबीच चर्काचर्की भएको छ। नियमित मन्त्रिपरिषद्को बैठकको सुरुमै सहभागी मन्त्रीहरुले आफ्नो विभागीय मन्त्रालयका सचिवहरुले असहयोग गरेको विषय उठाएपछि मन्त्रीहरु र मुख्यसचिवबीच चर्काचर्की भएको हो ।

निर्वाचनको परिणामपछि मन्त्रालयमा सचिवहरुले असहयोग गरेको भन्दै मन्त्रीहरुले मुख्य सचिव लोकदर्शन रेग्मीप्रति आक्रमक व्यवहार गरेका थिए। वर्तमान सरकार कामचलाउ मात्र भएको भन्दै सचिवहरुले आफुहरुको निर्देशन मान्न छाडेको मन्त्रीहरुले गुनासो गरेका थिए । यदि उनीहरुले मान्नुपर्ने अवस्था आयो भने छल्नका लागि विदामा बस्न थालेको आरोप मन्त्रीहरुको थियो।

केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्यसचिव रेग्मीलाई भेटेर गोरखापत्र र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिबारे प्रश्न उठाउँदै कामचलाउ सरकारका निर्देशन र नियुक्ती नमान्न भनेका थिए । नयाँ सरकार बनिनसक्दै नै सचिवहरु ओलीको आदेशानुसार काम गर्न थालेको आरोप लगाउँदै मन्त्रीहरु मुख्यसचिवमाथि खनिएका थिए ।

रेग्मीमाथि उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, शहरी विकास मन्त्री दिलनाथ गिरी, सिंचाइ मन्त्री सञ्यकुमार गौतम, कृषि मन्त्री रामकृष्ण यादवलगायतले आक्रोश पोखेका थिए। ‘आज मन्त्रिपरिषद्मा हंगामा भएकै हो, सचिवहरुले मन्त्रीलाई नटेरेकाले यस्तो भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।

सचिवहरुले मनलागी गर्न थालेको भन्दै मन्त्रीहरुले मुख्यसचिवलाई स्पष्टीकरण सोधेको ती मन्त्रीले जानकारी दिए।
‘मन्त्रालयका सचिवहरुले वर्तमान सरकारको काममा असहयोग गरेकाले स्पष्टिकरण सोधिएको हो,’ उनले भने, ‘उहाँले स्पष्टीकरण पनि दिनुभएको छ।’

मुख्य सचिव रेग्मीले भने आफूमाथि दोष नथुपार्न मन्त्रीहरुलाई अनुरोध गर्दै सरकारलाई असहयोग गर्ने सचिवलाई हटाउन सिफारिस भए आफू तयार रहेको समेत बताएका थिए।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org