ताजा समाचार

जब वामदेवले मुख खोले अनि मात्रै एमाले पछि हट्यो, अध्यादेश जारी गर्न राष्ट्रपति तयार

काठमाडौं, १४ पुस । राष्ट्रियसभा सम्बन्धी अध्यादेशमा राखेका आफ्नो अडानबाट नेकपा एमाले पछि हटेको छ । एमाले आफ्नो अडानबाट पछि हटेपछि राष्ट्रियसभासम्बन्धी अध्यादेश सम्बन्धि देखिएको विवाद समाधान हुने भएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीसहितको राष्ट्रियसभासम्बन्धी अध्यादेश पारित गरिनु संविधानविपरीत हुने बताउँदै आएको एमाले अन्ततः आफ्नो अडानबाट पछि हटेको हो ।

अब राष्ट्रपतिले यो अध्यादेश पारित गरे पनि आफूहरुलाई आपत्ति नहुने सन्देश एमाले नेताले बताएका छन् । एमाले हेडक्वार्टरमा ‘हरियो बत्ती’ बलेको संकेत पाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अध्यादेश पारित गर्न तयार भएकी छिन् । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतमले मुख खोलेपछि शीर्ष नेतृत्व आफ्नो अडानबाट पछि हटेका हुन् । बैठकमा गौतमले अध्यादेशमाथि अडान लिइरहने हो भने परिस्थिति बिग्रिने विश्लेषण सुनाएका थिए ।

एमालेले अडान नछाड्ने हो भने कांग्रेसले सत्ता लम्याउँदै जाने र सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भइरहने गौतमले बताएका थिए । बैठकमा केपी ओलीले एकल संक्रमणीय मत प्रणालीका विषयमा पार्टीको अडान यथावत नै रहेको बताएका थिए । तर, हाम्रो अडान रहँदा रहँदै पनि राष्ट्रपतिले अध्यादेश जारी गरिन् भने राष्ट्राध्यक्षले गरेको निर्णय मान्नैपर्ने संकेत ओलीले दिएका थिए ।

त्यसो त ओलीले अध्यादेशमाथिको अडान छाड्ने संकेत स्थायी कमिटीको बैठकमा वामदेवले मुख खोल्नुअगाडि नै माओवादी अध्यक्ष प्रचण्डलाई दिइसकेका थिए । र, यो संकेत माओवादी अध्यक्ष प्रचण्डले बिहानै शीतलनिवास पुर्‍याइसकेका थिए ।

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org